कर असुल गर्न पञ्चैबाजासहित टोलटोलमा पुग्दै काठमाण्डाै महानगर

 भदौ ५, २०७८ शनिबार १२:२२:४४ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चैबाजासहित टोलटोलमा जाने भएको छ ।

बक्यौता रकम असुल गर्न महानगरले पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो ।

आउँदाे बुधवारदेखि महानगरले पञ्चैबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ ।

यसअघि महानगरपालिकाले गएकाे असार १६ गते र साउनको अन्तिम हप्ता गरि कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरि ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् ।

दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरि सम्पर्कमा पनि नआउने र विवरणसम्म पेस नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिनुभयो।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घ संस्थालाई अनुरोध गरिएको छ ।

सूचना सार्वजनिक गरेपछि अहिलेसम्म करिब तीन करोड रुपैयाँ बक्यौता रकम असुल गरिएकोे महानगरले जनाएकाे छ । सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा एक करोड ५३ लाख राजस्व बुझाएका छन् ।

कर नतिरी सम्पर्कसम्म नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ । राजस्व महाशाखा प्रमुख डा. अधिकारीले भन्नुभयो, 'अटेर गर्नेलाई कानुनी कारबाही चलाउनुबाहेक विकल्प छैन, अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गरि महानगरबाट दिइने सबै सेवा बन्द गर्ने हो ।'

करदाताकै सहजताका लागि महानगरले गएकाे वर्ष असोज १ गतेदेखि अनलाइन प्रणालीमार्फत राजस्व सङ्कलन गर्दै आएको छ । अहिले अनलाइनमा १६० करदाता जोडिएका छन् । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया