दाङ : पाेल्ट्री व्यवसायमा आकर्षण बढ्दै, ३ अर्ब बढीकाे लगानी

 भदौ ५, २०७८ शनिबार १६:४७:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – पछिल्लाे समय दाङमा पाेल्ट्री व्यवसायतर्फकाे आकर्षण बढ्दाे छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ सय ५० वटा लेयर्सका फर्महरू रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

जसमा ३ अर्ब बढी लगानी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले बताउनुभयो । कार्यालयका अनुसार जिल्लामा करिब साढे चार सय कुखुरापालन व्यवसाय दर्ता भएर पनि अन्य धेरै व्यवसाय दर्ता नभएरै सञ्चालन भएका छन् ।

जिल्लामा पोल्ट्री व्यवसायमा दाङ उपत्यका भन्दा देउखुरी उपत्यकामा बढी लगानी रहेको छ । दाङका विभिन्न स्थानसँगै पहाडी जिल्लाहरूमा समेत कुखुरा, बच्चा, अण्डा पठाउन सकिने भएकाले धेरैले पोल्ट्री व्यवसायमा लगानी गरेको कार्यालयले जनाएको छ । अण्डा उत्पादनका हिसाबले दाङ देशभरमै चितवन जिल्लापछि दोस्रो अण्डा उत्पादन हुने जिल्लाका रूपमा चिनिन्छ । कुखुरा पालनका लागि दाङ जिल्ला राम्रो वातावरणसँगै मासु तथा अण्ड सप्लायर्सका हिसाबले समेत उपयुक्त ठाउँ भएकाले पोल्ट्री व्यवसायमा लगानी बढेको कार्यालय प्रमुख केसीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘छोटो समयमै राम्रो नाफा लिन सकिने व्यवसाय पाेल्ट्री व्यवसाय हो, त्यसैले यसमा लगानी गर्नेहरु बढेका छन् ।'

काेराेनाका कारण व्यवसाय घाटामा

पछिल्लो समय कोरोनाले पाेल्ट्री व्यवसायमा असर पुर्‍याएको छ । कोरोना भाइरसका कारण जिल्लामा व्यवसायीले ठूलो घाटा बेहोर्नुपरेको छ । कोरोनाका कारण पहिलेको तुलनामा अहिले अण्डाको उत्पादनमा समेत गिरावट आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

पछिल्लो समय कुखुरापालन गर्ने व्यवसायी घट्दै गएको सुरक्षित कुखरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष चन्दन भण्डारी बताउनुहुन्छ । कोरोनाका कारण उत्पन्न भएको संक्रमणकालीन समयमा जिल्लामा करिब ५० प्रतिशत व्यवसायीहरू कुखुरा पालन व्यवसायबाट बाहिरिएकाे व्यवसायी समेत रहनुभएका भण्डारीकाे भनाइ  छ ।

‘दानाको मूल्य बढ्ने तर व्यवसायीले तयार गरेका कुखुराको मूल्य नबढ्ने, दानाको गुणस्तर मापन गर्ने व्यवस्था नहुँदा अखाद्य दानाका कारण व्यवसायीहरू मारमा पर्ने गरिरहेका थिए’ सचिव भण्डारीले भन्नुभयो–‘त्यसमा कोरोना भाइरसका कारण दुुई वर्ष लामो समय लकडाउन हुँदा आधा व्यवसायी व्यवसाय क्षेत्रबाट पलायन भएका छन् ।’

उहाँका अनुसार दुई वर्ष अघि जिल्लामा साना तथा ठूला लगानीका करिब १२ सय व्यवसायीहरू रहेका थिए । व्यवसायीहरू मारमा पर्नुको अर्को समस्या भारतबाट कुखुरा तस्करी हुनु समेत भएको उहाँकाे भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया