‘ह्विप उल्लङ्घन गर्ने माधव नेपालसहित १४ सांसदकाे नाम भएकाे सनाखत आयाेगले नबुझाेस्’

 भदौ ८, २०७८ मंगलबार १८:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले पार्टीको ह्विप उल्लङ्घन गरेका माधव नेपालसहित १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाब दिएको छ ।

अग्नि खरेलसहितका एमाले नेताहरू मङ्गलवार निर्वाचन आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै ह्विप उल्लङ्घन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई दबाब दिएका हुन् । 

नेकपा एमालेका निर्वाचन विभाग प्रमुख खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताउनुभयो । नेकपा एमाले दल फुटाउनका निम्ति अध्यादेश ल्याएको भन्दै विभाग प्रमुख खरेलले मूल दल (एमाले) लाई रोहबरमा राखेर काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले निर्वाचन आयोगलाई भनेका छौँ, ह्विप उल्लङ्घन गर्ने १४ जनालाई कारबाही गरिनुपर्छ भनेका छौँ र तिनीहरूको नामलाई पनि समावेश नगरियोस्, उनीहरूलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस्, यो कुराले देशकाे लोकतन्त्रलाई बलियो बनाउँछ, लोकतन्त्र बलियो बनाउने काममा नै निर्वाचन आयोग लाग्छ भन्ने हामीलाई विश्वास छ । अर्काे कुरा सनाखतको प्रक्रियामा नेकपा एमालेलाई पनि समावेश गर्न जरुरी हुन्छ, नेकपा एमाले दल फुटाउने उद्देश्यले निवेदन आउँछ भने जुन मूल दल हो, त्यसलाई फुटाउनका लागि आएका मान्छे त्यसका सदस्य हुन् कि होइनन् ? संसदीय दलका ती सदस्य हुन् कि होइनन् ? पार्टीका केन्द्रीय समितिका सदस्य हुन् कि होइनन् ? भन्ने कुरालाई रोहबरमा त राख्नुपर्‍याे नि ! यही कुरा प्रष्ट पार्न आज हामी निर्वाचन आयोग गएका हौँ ।’

त्यसैगरी निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरूले नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र ल्याउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय संसद्का सदस्यहरूको हकमा भने सङ्घीय संसद्बाट जारी गरिएको परिचय पत्र लिएर उपस्थित हुनुपर्ने प्रावधान रहेको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरूलाई स्वयम् उपस्थित भएर सनाखत गर्नुपर्ने र भारतमा उपचाररत नेता झलनाथ खनालको विषयलाई भने आयोगले आफ्नो विवेकले निष्कर्ष निकाल्ने बताउनुभयो ।

निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) लाई बुधवार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया