नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डौ – माधव नेपालकाे नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि नेताहरूको सनाखत भएको छ । निर्वाचन आयोगले दिएको समयमा बुधवार यस पार्टीका नेता तथा सांसदहरूको सनाखत भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विभाजित नेपाल पक्षका नेताहरूले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याएसँगै नेपाल पक्षले निर्वाचन आयोगमा पार्टी दर्ता गरेको हो । नेपाल पक्षको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेसँगै पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्र पाउने भएको छ ।
सनाखतपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणि चौधरीले अहिले ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेको र विक्रम शाही, सोमप्रसाद पाण्डे,रामप्रित पासवान र राजन राई चार जनाको सनाखतका बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको बताउनुभयो । उहाँले सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टको पनि निर्वाचन आयोगले सनाखत गर्न दिए ३४ जना सांसद पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘५६ मध्ये भाष्कर काफ्लेबाहेक ५५ जना केन्द्रीय सदस्यले सनाखत गर्नुभएको छ । जेएन (झलनाथ खनाल) कमरेड अहिले उपचाररत हुनुहुन्छ, उहाँले पनि सनाखत गरिसक्नुभएको छ, विक्रम शाहीलगायत अन्य चार केन्द्रीय सदस्यको बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको छ, यदि उहाँहरूले पनि सनाखत गर्न पाउनुभयो भने यो सङ्ख्या ५९ पुग्छ, त्यस्तै सांसदमा ३० जनाले सनाखत गर्नुभएको छ, सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा भट्टको सनाखत बाँकी छ, निर्वाचन आयोगले दिएमा सांसदको सङ्ख्या ३४ हुन्छ, हामीले अपेक्षा गरेको भन्दा धेरै सनाखत भएको छ ।’
नेता चौधरीले नेकपा (एकीकृत समाजवादी) पार्टी चार महिना पछाडि सबैभन्दा ठूलो पार्टी बन्ने बताउनुभयो । माधव नेपाल पक्षका सांसदहरूको दल दर्ताको निवेदनपछि निर्वाचन आयोगले सनाखतका लागि आज (बुधवार) ११ बजेदेखि २ बजेसम्मको समय दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।