कार्यतालिका बनाएर महाधिवेशन गरौँ भन्दा मानिएन, अहिले सङ्कट आयाे : वरिष्ठ नेता पौडेल

 भदौ ९, २०७८ बुधबार १८:३५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिनुभएको छ । वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरूले धर्ना दिइरहेका छन् । त्यही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधवार पार्टी केन्द्रीय कार्यालय पुग्नुभएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीका क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गर्नुभयो । उहाँले पार्टीको वैधानिक सङ्कट आउन नदिन आउँदाे भदौ १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने दोहोर्‍याउनुभयो । 

वरिष्ठ नेता पौडेलले भन्नु भयो, ‘युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरूको नामावली टुङ्ग्याएर पार्टीलाई वैधानिक सङ्कटबाट बचाउन पर्दछ । संवैधानिक सङ्कटबाट नेपाली कांग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यक्ता भएको छ । तपाईँहरू सबैलाई थाहै छ, मैले त २०७७ साल मङ्सिर २८ गतेदेखि सुरु भएको महासमिति बैठकदेखि नै कार्यतालिका बनाएर महाधिवेशन गरौँ भन्दा मानिएन, अहिले सङ्कट यसरी आएको छ । तर यो अन्तिम घडीमा पनि पार्टीको वैधानिक सङ्कटलाई निवारण गर्न हाम्रो केन्द्रीय नेतृत्व इमानदार भएर, हामी सबै इमानदार भएर लागौँ । र हाम्रो पार्टीलाई बचाउने काममा सबै एक होऊँ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाइ नगरेको गुनासो पनि गर्नुभयो । उहाँले पार्टी नेतृत्व इमानदार भए अझै पनि तोकिएकै समयमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया