दैलेख : एम्बुलेन्सलाई भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको ज्यान गयाे

 भदौ ९, २०७८ बुधबार १९:४३:६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा एम्बुलेन्सलाई भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रले प्रदेश अस्पताल सुर्खेत रेफर गरेको शिशु लैजान गाउँपालिका र स्वास्थ्य संस्थाले सञ्चालन गरेको एम्बुलेन्स जान नमानेपछि शिशुकाे ज्यान गएको हाे ।

स्वास्थ्य केन्द्र लगिएकी शिशुलाई गम्भीर निमोनिया देखिएपछि स्वास्थ्यकर्मीले सुर्खेत रेफर गरेका थिए । सुर्खेत लैजानका लागि एम्बुलेन्ससँग आग्रह गर्न पुगेकी शिशुकी आमा मञ्जु विकलाई चालकले पहिलेकै पैसा तिर्न बाँकी रहेको र त्यो तिरेमा मात्रै एम्बुलेन्स चलाउने भन्दै फर्काएका थिए ।

विकले आफूले गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई एम्बुलेन्स मिलाइदिन आग्रह गर्दा पनि उहाँले वास्ता नगरेको गुनासो गर्नुभएको छ । आफू ऋण खोज्न गाउँ गए पनि तत्काल ऋण पनि नपाइएको शिशुकी आमा मञ्जु विकले बताउनुभयो ।

हिजो दिउँसो २ बजेदेखि एम्बुलेन्सका लागि अनुरोध गर्दा र पैसा खोज्दा खोज्दै राति १० बजे गाउँपालिकाको एम्बुलेन्समा लिएर अस्पताल जाँदै गर्दा आज बुधवार बिहान साँढे चार बजे अस्पताल पुग्ने बेलामा शिशुकाे ज्यान गएको विकले बताउनुभयो । नौ हजार रुपैयाँ भाडा नदिइ एम्बुलेन्स नचलाउने अडान लिएका चालकलाई स्वास्थ्यकर्मी र प्रहरीले भाडाको जिम्मेवारी लिने गरी अनुरोध गरेपछि राति १० बजेमात्रै एम्बुलेन्स चलाएका थिए ।

गाउँपालिकाका अध्यक्ष शाहीले भने आफूलाई लगाएको आरोप झुट भएको भन्दै आफूले नै एम्बुलेन्स मिलाउनका लागि प्रहरीलाई समेत फोन गरेको बताउनुभयो । शिशुको स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै एम्बुलेन्स खोज्न आउँदा दुःखद घटना भएको र आफूलाई पछुतो लागेको शाहीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया