नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - लगातारको झरीसँगैको पहिरोले ठाउँ-ठाउँमा सडक बन्द भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण देवदह–७ शीतलनगरमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको प्रहरीले जनाएको छ।
काठमाण्डाै-पुल भासिएपछि राजमार्गमा गाडी चल्न सकेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गकै नवलपरासी पूर्वमा डाइभर्सन बगाउँदा गाडीको आवतजावत रोकिएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयो ।
यस्तै सिन्धुलीका विभिन्न ठाउँमा पहिरो जाँदा वीपी राजमार्ग पनि बन्द भएको हो । प्रहरीका अनुसार कानढुङ्ग्री, अकबरे भीर, भिमान र कमेरेफाँटमा पहिरो खसेको छ भने पन्नेसी खोलामा बाढी आउँदा गाडी चल्न सकेका छैनन् ।
पहिरोले कालीगण्डकी करिडोर पनि बन्द भएको छ । बाग्लुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिरोका कारण करिडोर बन्द भएको हो । करिडोरको बाग्लुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
पानी पर्न रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउन सुरु गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिरोका कारण बन्द रहेकाले बाग्लुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । यस्तै, पहिरोले मकवानपुरको भैँसे–भीमफेदी सडक खण्ड पनि ठप्प भएको छ ।
बिहान भीमफेदी गाउँपालिका–२ मा माथिबाट लेदो माटोसहितको पहिरो खस्दा भैँसे–भीमफेदी सडक खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
सडक बन्द हुँदा काठमाण्डौको कुलेखानी–भीमफेदी हुँदै हेटौँडा र हेटौँडाबाट भीमफेदी हुँदै काठमाण्डौ छुट्ने गाडी चलेका छैनन् । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा पहिरो जाँदा हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डमा यातायात ठप्प भएको छ ।
कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका गाडी खानीडाँडामै रोकिएका छन् ।
डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।