आउँदाे चुनावमा कांग्रेसलाई पहिलाे पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिँदैछु : नेता निधि

 भदौ ११, २०७८ शुक्रबार १६:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदाे निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएका उपसभापति निधिले आज शुक्रवार नयाँ बानेश्वरमा रहेकाे एक बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आउँदाे चुनावमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताउनुभएको हो । उहाँले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पार्नु भयो । 

आफू कसैलाई 'रिटायर्ड' गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उहाँले कांग्रेसलाई बलियाे बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र नागरिकसँग जोड्न आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नुभयो । 

निधिले भन्नुभयो, ‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आउँदाे एक/डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा, रुख छापलाई जिताउन हामी सफल हुनेछौँ, मलाई पूरा विश्वास छ । आउँदाे चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र सङ्गठनलाई एकताबद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो । म कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नका लागि सभापतिको उम्मेदवार हुन खोजेको होइन । म नेपाली कांग्रेसलाई मजबुत बनाउन, नेपाली कांग्रेसको रुख छापलाई मतदाता र जनतासँग जोड्न, हिमाल, पहाड, तराई, मधेश, झापादेखि कञ्चनपुरसम्मका मतदातासम्म स्थापित गराउन मेराे उम्मेदवारी हाे । रुख छाप नेपाली लोकतन्त्रको पार्टी हो । रुख छाप नेपालको सार्वभौमसत्ता, नेपालको राष्ट्रियता, नेपाली जनताको हक, हित जर्गेना गर्ने छाप हो, त्यो नेपाली जनता र मतदातामा फैलाउनका लागि म सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छु ।’

उपसभापति निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो । आफूहरू सङ्घीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा नागरिकलाई बुझाउनु आवश्यक रहेको भन्दै उहाँले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रूपमा प्रष्ट र प्रतिबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो ।

उ​हाँले भन्नुभयो, ‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनताको बीचमा गएर भन्न चाहान्छु, देशमा ल्याइएकाे सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लाबारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लाबारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । तीन वर्षमा जुन दल सत्तामा आएको थियो, त्यो दल सङ्घीयतामा विश्वास गर्ने दल थिएन । त्यो दल गणतन्त्रमा विश्वास गर्ने दल थिएन । लोकतन्त्र र संसदीय प्रणालीमा विश्वास गर्ने दल थिएन । त्यसै कारणले तीन वर्षमा झन्डै दुई तिहाइको मत प्राप्त गरेर पनि देशमा सबै क्षेत्रमा भाँडभैलो बाहेक अरू केही पनि भएन । जनतालाई निराशा दियो । दुःख दियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको छ । त्यस कारणले यो कुरा अब जनताको बीचमा गएर हामीले भन्नुपरेको छ आउँदाे चुनावमा ।’ 

उपसभापति निधिले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रूपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया