बाढी पहिरोमा बेपत्ताको खोजी चल्दै : पालिकाको समन्वयमा राहतका काम सुरु

 भदौ १२, २०७८ शनिबार १०:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा पालिकाको समन्वयमा राहतका काम सुरु भएको जनाएको छ । लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा विवरण सङ्कलन र राहतको व्यवस्थापन थालिएको हो ।

गृह सचिव टेकनारायण पाण्डेले उद्धारसहित राहतका काम सुरु भएको बताउनुभएको छ । अप्ठ्यारोमा परेकालाई सुरक्षित ठाउँमा ल्याउने र अस्थायी बसोबासको काममा पनि पालिकाको समन्वयमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

नवलपुरमा पहिरोमा तीन जना र ललितपुरमा शुभाने खोलाले बगाउँदा एक बालिका बेपत्ता छन् । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ । बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । आज दिउँसो थप टोली खटाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । बाढी, पहिरो र डुबानबाट देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ ।

राजमार्ग तथा सडक र पुलमा क्षति पुगेको छ । यसअघि हिजो बेलुका गृहमन्त्री बालकृष्ण खाँडले तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न निर्देशन समेत दिनुभएको थियो ।

बढी पानी परेका ठाउँ र प्रभावितमा सहजता ल्याउन समन्वय गर्न तथा कतिपय ठाउँमा पुल बगाएको, राजमार्ग तथा सडक बन्द भएको अवस्थामा डाइभर्सन, बेलिब्रिज निर्माणसहित आवश्यक काममा तदारुकता देखाउन पनि उहाँले सम्बन्धित निकायलाई निर्देशन दिएको हो।          

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया