सकसपूर्ण पुनर्निर्माणका क्रममा रातो मच्छिन्द्रनाथ मन्दिर

 भदौ १२, २०७८ शनिबार १२:४३:१३ | कुमार रञ्जित
unn.prixa.net

गोरखा जिल्लाको बारपाक केन्द्रित विनाशकारी भूकम्प गएको पूरै ६ वर्ष ४ महिना अर्थात् २३ सय १५ दिन पूरा भएको छ । यसबीच पूर्ण रुपमा क्षति भएका र आंशिक क्षति भएका समेत गरेर लाखौँ संरचनाहरुको पुनर्निर्माण भइसक्दा पनि ललितपुरको बुङ्गमतीमा रहेकाे महत्त्वपूर्ण सम्पदाका रुपमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर बनाउन अझै ढिलाइ किन भइरहेको छ ? बुङ्गमती मन्दिर परिसर पुग्ने जो–कसैले राख्ने गरेको जिज्ञासा हो यो । 

वास्तवमै यस जिज्ञासामा सन्तोषजनक उत्तर अहिलेसम्म कसैले दिएका छैैनन् । अघिल्लो सरकारले पुनर्निर्माणका लागि जिम्मा लगाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण होस् वा मच्छिन्द्रनाथको प्राचीनता बुझेर त्यसका अवयवहरुको संरक्षण गर्दै पुनर्निर्माण गर्ने जिम्मा पाएको पुरातत्व विभाग होस् । यसैगरी पुनर्निर्माणका लागि गठित उपभोक्ता समितिले पनि जिज्ञासुका यस प्रश्नका उत्तर घुमाइ फिराइ अस्पष्ट दिने गरेकोले जनमानस अन्योलमा रुमल्लिएको अवस्थामा छन् ।

प्रश्नहरु हुन्थ्यो–पुनर्निर्माण प्राधिकरणले काठमाण्डाैको मध्यभागमा रहेको रानीपोखरीसँगै एकै दिन एकै समय सुरु गरेको बुङ्गमतीको मच्छिन्द्र बहालमा अवस्थित शिखर शैलीको मन्दिर अझै किन पूरा गर्न सकेन ? त्यसैगरी काठमाण्डाैकै ऐतिहासिक “काष्ठमण्डप” पुनर्निर्माण पूरा हुनै लाग्दा पनि रातो मच्छिन्द्रनाथको मन्दिरले किन आकार लिन सकेन ? त्यसका लागि किन प्राधिकरणले तत्परता देखाउन सकेन ? पुरातत्व विभागले किन यसमा महत्त्व दिएन चाहेन ? यसैगरी पुनर्निर्माणका लागि अघि सरेको श्रीलङ्काली सरकार किन पछि हट्यो ? ढिलै भए पनि स्थानीयको सहभागितामा उपभोक्ता समितिले बनाउन सुरु गरिसकेपछि पनि पुनर्निर्माणले किन गति लिन सकेन ? यस्ता प्रश्नहरुको सन्तोषजनक उत्तर दिन नसकेर आजित भइसकेका देखिन्छन् सम्बन्धित निकायका साथै सम्बद्ध पदाधिकारीहरु ।  

वास्तवमा प्राचीनता, शैलीगत, वास्तु तथा कलाकारिताका दृष्टिबाट हेर्दा बेजोड देखिने बुङ्गमतीमा रहेकाे बुंगबहाःको मध्य भागमा रहेको मन्दिरमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले गर्दा पूर्णरुपमा भत्किएदेखि नै पुनर्निर्माणका लागि देशी तथा विदेशी वास्तु तथा पुरातत्वविद्हरुको दृष्टि केन्द्रित भएको थियो ।

१४ सय वर्षअघि तत्कालीन नेपालका राजाकै नेतृत्वमा बन्धुदत्त आचाःजु र ललित ज्यापुहरुले आसामदेखि ल्याएको मच्छिन्द्रनाथको बासस्थानका रुपमा रहेको प्रमाणित र राजधानी उपत्यकावासीले अत्यन्तै श्रद्धापूर्वक पुज्नुका साथै बर्सेनि भव्य रथयात्रा गर्दै आइरहेको विश्वकै सबैभन्दा लामो सांस्कृतिक यात्राका रुपमा विश्व सम्पदा सूचीमा अङ्कित गर्ने तयारीमा समेत रहेको मच्छिन्द्रनाथका अनेकौँ कथाहरु सुन्न र पढ्न पाइन्छन् ।

तर भूकम्पपछि भग्नावशेष हटाउने कार्यको प्रारम्भदेखि नै भग्नावशेषमा पुरिएका र पन्छाइएका पुरातत्वप्रति संवेदनशील हुन नसक्दा मन्दिरभित्रका गुह्य संरचना र वास्तु विधि अध्ययन नै गम्भीरतापूर्वक हुन नसकेको अहिले निर्माण पक्षले महसुस गरिरहेको छ । जुन अहिले मन्दिरको पुनर्निर्माण ढिलो हुनुमा प्रमुख सकसपूर्ण कारण बनिरहेको ठहरिएको छ । 

मित्रराष्ट्र श्रीलङ्काली सरकारको आर्थिक सहयोग प्राप्त गरेर बनाउने क्रममा सुरुदेखि नै ठेकेदारले सम्पदाप्रति स‌ंवेदनशीलता नदेखाइकन अन्य साधारण संरचना जस्तै पुनर्निर्माण गरेकोमा स्थानीयले चर्को विरोध गरेपछि अवरुद्ध हुन पुगेको थियो । लामो बहसपछि स्थानीयकै पहलमा अमानतमा उपभोक्ता समितिमार्फत पुनर्निर्माण थाल्दासम्म ढिलो भइसकेको र कतिपय भइसकेका पुनर्निर्माण पनि भत्काउनुपर्ने अवस्था नै आएको थियो ।

समितिले भूकम्प विनाशबाट पुर्याएको क्षति र भग्नावशेषदेखि नै अध्ययन गर्दै मन्दिरको पुनर्निर्माण पुरानै शैली र संरचनाबाट गर्न खोज्दाखोज्दै पृथ्वीले सूर्यको ६ फन्को मारिसकेको थियो । विवादै विवादको अवस्थामा दाता राष्ट्र श्रीलङ्काको टोली पछि हट्न पुग्यो भने पुरातत्व विभाग मौन र पुनर्निर्माण प्राधिकरण तमासे बन्न बाध्य हुन पर्यो ।

यस्ता अनेकौँ विवाद, असहयोग र अन्योलबीच ढिलै भए पनि फेरि पुनर्निर्माण सुरु गरेको समितिले अहिले पुनः मन्दिरको भित्री गहिराइदेखि नै अध्ययन–अनुसन्धान गरेर पुनर्निर्माण गरिरहेको छ ।

प्राचीन मौलिक वास्तु र निर्माण शैलीमा पुरातत्वप्रति संवेदनशील हुँदै प्रारम्भिक माटोको गुणस्तरसम्मको पनि जाँच गर्दै समितिका स्वयंसेवकहरु महिनौँदेखि माटोका इँटा र बुट्टा कुँद्ने साथै पोलेर तयार पार्ने कार्यमा समर्पित रहेको देख्न सकिन्छ ।

भूकम्पले विध्वंश गरेको मच्छिन्द्रनाथ को मन्दिरमा माटाका विभिन्न बेजोड कलाकृतिहरु पुनः पुरानै स्वरुपमा तयार पार्नु अभूतपूर्व चुनौतिपूर्ण कार्य भएको अहिले पुनर्निर्माणमा जुटेको पक्षले अनुभव गरिरहको छ ।   

वास्तवमा सम्पदाको पुनर्निर्माण मात्र कुनै संरचनाको पुनर्निर्माण जस्तै नहोस् र मच्छिन्द्रनाथ को मन्दिरले प्राचीन मौलिकता बोक्नमा कुनै कमजोरी नछोडोस् भन्नेतर्फ बुङ्गमतीका युवा स्वयंसेवीहरु सचेत देखिन्छन् । उनीहरुले त्यसका लागि मौलिक इँटाको निर्माणको केन्द्र बनिरहेको दक्षिण बाराही इँटा उद्योगमा आफ्ना सिप र समय समर्पित गरिरहेका छन् ।

अब बन्ने मच्छिन्द्रनाथको मन्दिर वास्तवमै वर्तमान युवा पुस्ताका लागि सुदूर भविष्यसम्म गौरव गर्ने सम्पदा धरोहर बन्ने कुरामा उनीहरु ढुक्क छन् । त्यसका लागि वर्तमान नै चुनौतिपूर्ण समय रहेको र त्यसका लागि आफूहरु तयार रहेको पनि बुङ्गमतीका युवा पुस्ता बताउँछन् । यस कारण ढिलै भए पनि मच्छिन्द्रनाथ को मन्दिर राम्रो र नमुना बन्नेमा माटोसित खेलिरहेका बुङ्गमतीका युवा पुस्ता ढुक्क देखिन्छन् ।   

अन्तिम अपडेट: चैत १४, २०८०

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया