पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई मेयर शाक्यकाे आग्रह

 भदौ १२, २०७८ शनिबार १४:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गर्नुभएकाे छ । 

महानगरपालिकाका मेयर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गर्नु भएको हो । शनिबार बिहान मेयर शाक्यले काठमाण्डाैको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै महानगरपालिका भित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो समेत गर्नु भयो ।

उहाँले राम्रो पार्क बनाउने  र राम्रो करिडोर बनाउने काममा महानगरपालिका प्रतिवद्ध रहेको पनि दोहोर्‍याउनुभयो ।

‘कम्तिमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं । सार्वजनिक जग्गा धेरै छन् । हिजो भएका पार्कहरुलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौं' मेयर शाक्यले भन्नु भयो, 'स्थानीयको सहयोग भएन भने काम गर्न सकिँदैन । जहाँ स्थानीयबासीहरुले सहयोग गर्छ, त्यहाँ स्वभाविक रुपमा काम गर्न सजिलो हुन्छ । जहाँ स्थानीयको सहयोग हुँदैन, अवरोध हुन्छ, त्यहाँ काम गर्न गाह्रो हुन्छ ।’

कार्यक्रममा बोल्दै काठमाण्डाै महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भृकुटीमण्डपभित्र ठूलो प्रदर्शनी हल बनाउन महानगरपालिकाको ध्यानाकर्षण गराउनु भयो । उहाँले त्यसका लागि काठमाण्डाै महानगरपालिकाले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको शुभारम्भ गर्नु भएको थियो । वाग्मती प्रदेशसभा सदस्य समेत रहनु भएका उहाँले वाग्मती प्रदेश सरकारको १ करोड ३८ लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको त्याे करिडोरको उद्घाटन गर्नु भएको हो ।  यता, मेयर शाक्यले उद्घाटन गर्नु भएको झिंगु  इच्छुमती पार्क ३७ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण भएको थियो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया