फुट्नेहरु सफल भएका उदाहरण पनि छन्

 भदौ १३, २०७८ आइतबार ९:४९:११ | श्याम श्रेष्ठ
unn.prixa.net

नेकपा एमालेको विभाजन प्रतिनिधि सभाको विघटनबाट सुरु भएको हो । नेकपाको पालादेखि नै नेतृत्वले भिन्न मत राख्ने पक्षलाई बराबरी ठाउँ नदिएको अथवा न्यायपूर्ण ढङ्गले पद र जिम्मेवारीको विभाजन गरेन भन्ने विवाद थियो । जब केपी ओलीले प्रधानमन्त्रीको रुपमा प्रतिनिधि सभाको विघटन गर्नुभयो, त्यसपछि विवाद सडक आन्दोलनको रुपमा आयो । विभाजन रोक्न केही नेताहरु लागे पनि सफल भएनन् । 

पार्टीभित्र पहिलेदेखि नै एकता थिएन । त्यसैले पार्टी फुट्नु कुनै आश्चर्यको कुरा पनि होइन । अहिले पार्टी विभाजन हुनुमा माधव नेपालको कुण्ठा तथा केपी ओलीको अहङ्कार र हठ प्रमुख कारणका रुपमा देखिएका छन । यी दुवै कुरा मिलेर एमालेमा फुट भएको हो । 

बाहिरी शक्ति जहिले पनि सहायक शक्तिका रुपमा रहन्छ । यो उत्प्रेरकको रुपमा मात्र रहन्छ । त्यो मुख्य कारणको रुपमा हुँदैन, मुख्य कारण त पार्टीभित्र नै हुन्छ । नेकपा एमाले पनि पार्टी भित्रकै कारणले फुटेको हो। ओलीले अध्यक्षको रुपमा राम्रोसँग पार्टी सञ्चालन गरेको भए आज फुट्नुपर्ने जरुरी थिएन । त्यसैले पार्टी फुट्नुको मुल दोष शीर्ष नेतृत्वलाई नै जान्छ। 

केपी ओलीको तुलनामा माधव नेपालसँग शक्ति कम होला । तर सेनाको सङ्ख्या कमी र बढी हुनुले विजयी को हुन्छ भन्ने कुराले छिनोफानो गर्दैन । जोसँग देशलाई अगाडि बढाउन सक्ने एजेण्डा छ, देशलाई फेर्ने, नागरिकको मन जित्ने एजेण्डा छ अन्ततः त्यसैको जित हुन्छ । अहिले माधव नेपालको एजेण्डा प्रष्ट भएको देखिँदैन । उहाँले एजेण्डा कसरी ल्याउनु हुन्छ, अघिल्लो पार्टीभन्दा यो पार्टी कुन अर्थमा पृथक र कुन अर्थमा उन्नत छ भन्ने कुरामा भर पर्छ । 

दुवैतिर रहेका नेताहरुका आआफ्नै स्वार्थ हुन सक्छन् । १० बुँदे सहमति हेर्दा, यसमा आफ्नाे बिग्रेको पार्टी बनाउने कुनै सर्त छैन । दश बुँदे सहमतिको अध्ययन गर्दा गणितीय एजेण्डा मात्रै देखिन्छन् । जेठ दुईमा फर्कने, त्यसपछि सबै ठिक भइहाल्छ भन्ने एजेण्डा मात्रै छ । तर एमालेमा जुन वैचारिक राजनीतिक समस्या आएको छ, त्यो खालको समस्या सच्चिने सम्भावना मैले देखेको छैन । 

फुट्नेहरुले पनि आफ्नाे औचित्य सिद्ध गर्न सक्नु पर्छ । १० बुँदे सहमतिलाई पालना गर्नुभएको छैन, त्यो मलाई अचम्म लागेको छैन । तर जेठ दुई २ उहाँहरु जानु भएन, उहाँहरुको एजेण्डा के त ? ओलीको भन्दा पृथक, उन्नत र देश बदल्ने एजेण्डा के छ ? यी कुरा उहाँहरुले सावित गरेर देखाउनु पर्छ । हैन भने, जसरी यो भन्दा पहिले अरु फुट्नेहरु हराएर गए त्यसैगरी उहाँहरु पनि हराउनु हुन्छ । त्यसैले औचित्य सिद्ध गर्न उहाँहरुको व्यवहारमा देखिनु पर्छ ।

फुटेर जानेहरु सफल भएका उदाहरण पनि छन्

फुटेर जानेहरु सबै असफल मात्रै भएका छन् भन्न मिल्दैन । नेकपा एकता केन्द्रबाट माओवादी फुटेको हो । सिङ्गो नेकपाबाट फुटेर नेकपा माले बन्यो । मात्रिकाको पार्टीबाट वीपीको पार्टी फुट्यो । यी फुटेर सफल भएका छन् त । त्यसैले सबै खराब पनि छैनन् र सबै असल पनि छैनन् । अहिलेको फुटले सकारात्मक असर पार्छ या नकारात्मक असर पार्छ यो थाहा पाउन केही समय कुर्नै पर्छ । फुटको औचित्य सिद्ध गर्न सके सकारात्मक असर पनि देखिन सक्छ । 

नेपाली नागरिक र देशलाई अगाडि लैजाने, ओलीको पार्टी भन्दा पृथक र उन्नत ढङ्गले अगाडि बढाउने कुरा आयो भने यो कुरा राम्रो हुन्छ । यसले अहिले थोरै असर पारे पनि पछि दीर्घकालीन रुपमा राम्रो असर पार्न सक्छ । यस्तो हुन नसके यसबाट नेकपाको राजनीतिक शक्तिमा दीर्घकालीन रुपमा धेरै ठूलो नोक्सान गर्नेछ ।

एमाले र नेकपा एकीकृत समाजवादीमा कागजमा मात्र फरक

एमाले र माधव नेपालको नेकपा एकीकृत समाजवादीमा केही फरक देखिन्छ । उहाँहरुको घोषणा पत्र हेर्दा फरक देखिन्छ, तर त्यो कागज मात्र हो । त्यसैले घोषणा पत्र हेरेर मात्र केही भन्न सकिने अवस्था छैन । लिखितमा राम्रो छ, तर कागजको कुरा व्यवहारमा हेर्न बाँकी छ । कागज हेरेर मात्र राम्रो/नराम्रो छुट्याउनु भन्दा पनि व्यवहारमा हेरेर भन्नु ठिक हुन्छ । माधव नेपालको पार्टीको नाममा समाजवादका, राष्ट्रघाती कुराहरु नगर्ने, प्रतिगमनको विरोध, युवाहरुलाई प्राथमिकता दिने जस्ता थुप्रै कुराहरु गरिएको छ । 

कम्युनिस्टहरुले आफूलाई वैज्ञानिक समाजवादी भन्छन् । तर नेपालका कम्युनिजम भनेको साम्यवाद भन्छन्, त्यो गलत अनुवाद हो । कम्युन शब्द फ्रेन्च शब्द हो । जसकोे अर्थ समुदाय हो  । व्यक्तिको हित, व्यक्तिको नाफा, व्यक्तिको सम्पत्ति भन्दा पनि समुदायको हित, समुदायको नाफा, समुदायको सम्पत्ति नै सर्वोच्च हुनु नै समाजवाद हो ।

व्यक्ति भन्दा समाज नै सर्वोच्च हो भन्ने सिद्धान्तमा आधारित विचार नै समुदायवाद हो । समाजवाद भएरै समुदायवादमा जाने हो । समुदायवाद लक्ष्य हो र समाजवाद भर्या‍ङ हो भनेर मार्क्‍सवादमा व्याख्या गरिएको छ । कम्युनिस्टहरुको सिद्धान्त पनि समाजवाद भएरै जाने हो ।

एमाले या माओवादीसँग एकता हुने सम्भावना कम

भविष्यमा प्रचण्ड र उपेन्द्र यादवसँग मिलेर पार्टी बनाउनको लागि माधव नेपाल एमालेबाट छुट्टिएको भन्ने एकथरीको विश्लेषण छ । र अर्को विश्लेषणमा चुनाव अगाडि नै पार्टी एकता हुन्छ भन्ने छ । यसबारे अहिले नै भन्न सकिने स्थिति छैन । चुनाव अब टाढा छैन । पालिकाको चुनावका लागि एक वर्ष पनि समय बाँकी छैन । त्यतिबेला उहाँहरुले कोसँग गठबन्धन बनाउने भन्ने कुरा हुन्छ, तर यतिबेला उहाँहरुको मनोविज्ञान, राजनीतिको मेल हेर्दा गठबन्धन बनाए पनि प्रचण्ड, उपेन्द्र यादव, र विप्लवको दलसँग बनाउने सम्भावना प्रवल छ । 

एमालेसँग एकता हुने सम्भावना त म देख्दिनँ । उहाँहरुको बीचमा तीन प्रकारको दरार छ । मनोविज्ञान, अहङ्कारको लडाइँ र विचारको लडाइँ । ओलीले माधव नेपाल विनाकै पार्टी खोज्नु भएको छ । अर्को कुरा उहाँहरु एकथरीले संसद विघटनलाई राम्रो भन्नु हुन्छ र अर्कोले प्रतिगमन भन्नु हुन्छ । त्यस कारणले उहाँहरुबीच एकता होला भन्ने सम्भावना म देख्दिनँ । पछि प्रचण्ड र उपेन्द्र यादवसँग माधव नेपालको चुनावी तालमेल हुन सक्ने ज्यादा सम्भावना देखेको छु । तर पार्टी एकता हुने कम सम्भावना छ । 

प्रचण्ड र माधव नेपाल एकै ठाउँमा आउने भन्ने कुरा पनि थियो । तर म यसको सम्भावना कम देख्छु । किनभने प्रचण्ड र नेपालको पार्टीबीच राजनीतिक ग्याप र अन्य ग्याप पनि छन् । त्यसैले तत्कालै उहाँहरुको पार्टी मिल्ने सम्भावना कम छ । ओली र प्रचण्ड मिलेजस्तै कुनै विचार र सिद्धान्तको छलफल नगरि मिलौँ भनेर मिल्ने हो भने अर्कै कुरा हो । सम्भव छैन त नभनौँ, तर विचार र छलफल गरेर भन्ने हो भने ​उहाँहरुबीच पार्टी एकता भन्दा पनि चुनावी गठबन्धनको सम्भावना बढी छ । 

यस्ता खालका एकता नेपालमा भइराखेको देखिन्छ  । प्रचण्डले पार्टीको केन्द्रीय कमिटीको बैठकमा पनि एकताको लागि ढोका खोल्ने भनेर नीतिगत निर्णय गरेकोे देखिन्छ । तर निर्णय गरे पनि त्यो सम्भव हुनु पर्यो, जसको सम्भावना कम छ । 

केपी ओलीसँग प्रतिस्पर्धा गर्नकै लागि भए पनि उहाँहरु मिल्नुको अर्को विकल्प छैन । आवश्यकताको सिद्धान्तले उहाँहरुलाई गठबन्धनमा निश्चित रुपमा धकेल्ला । पार्टी एकता गर्न पनि धकेल्ला । तर पार्टी एकता हुनको लागि धेरै कुराहरु मिल्नु पर्ने भएकाले उहाँहरु प्रयाससम्म गर्नु होला ।

ओलीको प्रवृत्तिमा सुधार

पार्टी फुट्नुको मुख्य कारण भनेकै ओलीजीको हठ, अहङ्कार र तानाशाही स्वभाव हो । १० बुँदे सहमतिमा त्यो स्वभाव हटाउनेबारे कुनै उल्लेख गरिएको छैन । पार्टी फुट्नुको कारण विचार, सिद्धान्त, नारामा होइन, यो त ओलीको स्वभावका कारणले फुटेको हो । उहाँको यस्तो प्रवृति नभएको भए पार्टी फुट्ने नै थिएन । 

पछिल्लो समयमा भने केही सुधार देखिएको छ । उहाँले वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनु भयो, प्रदेश-१ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुभयो । यो कुरा आजभन्दा एक/दुई वर्ष अगाडि गरेको भए नेकपा फुट्ने नै थिएन । प्रचण्डले पनि अध्यक्षको पद तपाईँ राख्नुहोस् तर कार्यकारी पद मात्र दिनुहोस् भन्नु भएको हो । त्यति मानेको भए यो अवस्था आउने नै थिएन । 

ओली र नेपालको अबको बाटो

नयाँ पार्टी खोलेका माधव नेपालले केपी ओलीले भन्दा भिन्न प्रवृति देखाउन सक्नु पर्यो । रुपान्तरणकारी राजनीति उहाँले ल्याउनु पर्यो । यो पार्टीले निम्नमध्यम वर्गीय या योभन्दा मुनिको वर्गको राजनीति गर्न सक्छ? यसले नेपालमा आमूल परिवर्तन ल्याउन सक्छ ?

औद्योगिक क्रान्ति, कृषि क्रान्ति, भूमिसुधारका कार्यक्रम ल्याउन सक्छ ? यसले नेपालमै रोजगारीको वातावरण सृजना गर्न सक्छ ? आम नागरिकको मन जित्ने शिक्षा, स्वास्थ्यका कार्यक्रम ल्याउन सक्छ ? त्यो खालका कार्यक्रम ल्याउन सक्यो भने यो सफल हुन्छ, नत्र ओली जी र यसमा केही फरक हुँदैन।

ओलीजी ले पनि आफ्नाे प्रवृति सच्चाउनु जरुरी छ । उहाँको हठ, अहङ्कार, मुख मात्र चल्ने कान नचल्ने, अरुको कुरा नसुन्ने जस्ता स्वभाव उहाँले बदल्नुपर्ने हुन्छ । यो स्वभावले कुनै पनि पार्टी लामो समयसम्म टिकेर बस्न सक्दैन । उहाँले वर्गीय राजनीति छोड्नु भएको छ । त्यसैले आफ्नो बानी र प्रवृत्ति सुधारेर सही बाटोमा हिँड्न सक्नुपर्छ ।

यससँग सम्बन्धित थप कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस्।  

(वाम विश्लेषक श्याम श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: कात्तिक ७, २०७८

श्याम श्रेष्ठ

श्याम श्रेष्ठ राजनीतिक विश्लेषक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया