सुर्खेतको पश्चिम क्षेत्रका सडक : नागरिकलाई बाह्रै महिना सास्ती

 भदौ १३, २०७८ आइतबार २०:२२:८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतको चौकुने गाउँपालिका ७ गुठुका तेज रोकायलाई गुठुदेखि वीरेन्द्रनगर (मदन भण्डारी राजमार्ग अन्र्तगत) आउन सामान्य अवस्थामा झन्डै तीन घण्टा समय लाग्छ । तर अहिले उहाँलाई वीरेन्द्रनगर आउन र वीरेन्द्रनगरबाट गुठु पुग्न झन्डै आठ–नौ घण्टमा लाग्छ । हिलाम्मे सडकका कारण गाडी फस्दा चार घण्टासम्म कुर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।  

विकासका दृष्टिकोणले पछि परेको सुर्खेतको पश्चिम क्षेत्रलाई सरकारले ओझेलमा पर्दा सास्ती भोग्नुपरेको उहाँको भनाइ छ । रोकायाले भन्नुभयो, ‘प्रत्येक पटक भोट माग्न आउँदा सडकको अवस्था देखाएर भोट माग्छन् । चुनाव भएको चार वर्ष पुग्न लाग्यो, हामीले विकासको अनुभूति गर्न पाएनौँ ।’ उहाँले पश्चिमका नागरिकले सडक मात्र नभएर खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षाको पनि अवस्था उस्तै रहेको बताउनुुभयो । 

पञ्चपुरी नगरपालिका ५ बाबिया चौरका यादव पौडेलले पनि वर्षाैँदेखि सडकको सास्ती भोग्दै आउनुुभएको छ ।  बिहान गाडी चढ्यो भने बेलुका मात्रै गन्तव्यमा पुग्नपर्ने बाध्यता भएको उहाँले सुनाउनुुभयो । पटक–पटक आफ्ना क्षेत्रका नेताहरूलाई झक्झकाए पनि सुनुवाइ नभएको पौडेलको गुनासो छ । उहाँले विकासको आशामा पश्चिमका नागरिक बसे पनि अहिलेसम्म विकासको अनुभूति गर्न नपाएको बताउनुभयो । 

पौडेल र रोकाया मात्र होइन पश्चिम क्षेत्रका नागरिकले वर्षाैँदेखि सडकको सास्ती भोग्दै आएका छन् । विकास ओसार्ने मुख्य माध्यम सडककै हालत बिजोग भएपछि पश्चिम सुर्खेतको समग्र विकासमा बाधा भइरहेको छ । सडक पूर्वाधार भरपर्दो नहुँदा अ विकास निर्माणमा पनि असर पुगेको हो । 

यहाँका सबैजसो सडक कच्ची छन् । जसले गर्दा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । धेरैजसो सडक खण्डमा वर्षाको समयमा गाडी नै चल्दैनन् । एम्बुलेन्ससमेत चल्ने अवस्था नभएपछि बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । हरेक तहका चुनावमा नेताहरूका लागि यिनै सडक प्रमुख एजेन्डा बन्छन् । झन्डै तीन दशकदेखि यस क्षेत्रमा सडक राजनीति चलिरहेकै छ । चुनावताका खुबै चर्चा हुने सडक सुधार भने कहिल्यै हुँदैन । भोट माग्दा प्राथमिकताका साथ प्रतिबद्धता जनाइए पनि पछि यो विषय बिस्तारै ओझेल पर्ने गरेको नागरिकको गुनासो छ । 

विसं २०५० मा बड्डीचौर–बेनीघाट सडक निर्माणको काम थालिएको थियो । यो सडक निर्माण सुरु गरेकै २८ वर्ष भइसकेको छ । तर त्यस क्षेत्रका बासिन्दा अझै यातायातको सहज पहुँचमा छैनन् । यात्रुले डोरी लगाएर गाडी तान्नुपर्ने, धकेल्नुपर्ने र ढुङ्गा हालेर पास गराउनुपर्ने हैरानी छ । खोलामा पानीको बहाव बढ्दा घण्टौँसम्म कुर्नुपर्छ । अहिले त्यही सडक मदन भण्डारी राजमार्गमा परेको छ । बड्डी चौरदेखि लगामसम्म ९४ किलोमिटर रहेको यो खण्डमा ५० मिटर चौडा सडक बनाउने भनिएको छ । सडकको अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) समेत भएको छैन । राजमार्गमा परे पनि सडक सुधार–विस्तारको कामले गति लिन नसकेको हो  ।

पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले सङ्घीय सरकारकै ढिलासुस्तीका कारण सडक समस्या उस्तै रहिरहेको बताउनुभयो । सङ्घ र प्रदेश सरकारसँग पालिकाले बारम्बार सडक सुधारका लागि पहल गरिरहेको उहाँले जानकारी दिनुुभयो ।  माथिल्लो तहका सरकारले सुरु गरेका सडक योजना समयमै सम्पन्न नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले समस्या झेल्दै आएको मेयर थापाको भनाइ छ ।  प्रदेश सरकारसँग पञ्चपुरी ३ खम्मगाडेदेखि गुठुसम्मको सडकका लागि बहुवर्षीय योजना सञ्चालन गर्न बजेटको पहल भइरहेको उहाँले बताउनुुभयो । 

पश्चिम सुर्खेतबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बिन्दमान विष्टले चालु आर्थिक वर्षमा बड्डी चौरदेखि बाबिया चौरसम्म सडक सुधार गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो सडक खण्डको स्तरोन्नतिका लागि अबको एक महिनामा टेन्डर गर्ने तयारी भइरहेको छ । त्यसका लागि कर्णाली सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अपुग भए बजेट थप गर्न सकिने समेत विष्टले जानकारी दिनुुभयो । उहाँले मदन भण्डारी राजमार्ग आयोजनासँग पनि सडक निर्माणलाई गति दिन पहल भइरहेको जनाउनुभयो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया