अरुण तेस्रो : आयोजनाको रुट परिवर्तनसँगै जग्गा यकिन गर्न सुरु

 भदौ १५, २०७८ मंगलबार १८:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – खोटाङमा अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि अधिग्रहण गर्न आवश्यक जग्गा यकिन गर्न सुरु गरिएको छ । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रोकाे प्रसारण लाइनले ओगट्ने दुई गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नाम लगायतका विवरण सङ्कलन सुरु गरिएको हो ।

सङ्खुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबरमा जोडिने अरुण तेस्रोको प्रसारण लाइनले ओगट्ने जग्गाको विवरण यकिन गर्ने काम भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका साइड अफिस को–अर्डिनेटर प्रवीण यादवले बताउनुभयो । 

२०७२ सालमा गरिएको गुगल म्यापिङ, आइइई लगायतका क्रममा साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३०/४० घरका एक सय ३८ कित्ता जग्गा अधिग्रहण गर्ने निश्चित गरिएको थियो । 

प्रसारण लाइनको रुट निश्चित गरेसँगै त्यो बेला रुटमा पर्ने जग्गा अधिग्रहणका लागि रोक्का गरिएको थियो । तर अहिले पहिरो, खोल्साखाेल्सी, मानव बस्ती, पहरालगायतका प्राकृतिक अवरोधलाई छल्नका लागि जलविद्युत् आयोजनाको रुट सामान्य परिवर्तन भएपछि अधिग्रहण हुने जग्गाको पुनः यकिन गर्न सुरु गरिएको हो । आयोजनाको रुट परिवर्तन भएसँगै दुई वर्षदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिसकिएको साइड अफिस को–अर्डिनेटर यादवले बताउनुभयो ।  

खोटाङका दुई गाउँपालिकामा ७९ वटा पोल राखिने छन् । जिल्ला मालपोत कार्यालयसँगको समन्वयमा आयोजनाको प्रसारण लाइनले ओगट्ने जग्गा छुट्याउने र मुआब्जा दिलाउने प्रक्रिया सुरु हुने आयोजनाले जनाएको छ ।   

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया