सभामुख बाटाे छाडेर कान्ला र भिरबाट हिँडिरहेका छन् : केपी ओली

 भदौ १५, २०७८ मंगलबार १९:२८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले झापा–काठमाण्डाै सम्पर्क समितिले आज मङ्गलवार काठमाण्डाैमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भिरबाट हिँडेको बताउनुभएको हो । उहाँले निर्वाचन आयोग पनि संविधान र कानुनको राजमार्गमा हिँड्न छाडेको बताउनुभयो । उहाँले अदालतमा बसेपछि जे पनि गर्न सकिनेजस्तो भइरहेको पनि उल्लेख गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन् । कान्ला–कान्ला, भिर–भिर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानुनको राजमार्ग छ, त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ । त्यही भइरहेको छ । हामी ती कुरालाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौँ । चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौँ । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ ।’

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आउँदाे चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबैभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरा भनेकाे अलोकतान्त्रिक अभ्यासकाे हाे, याे चिन्ताको विषय हो । अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षड्यन्त्र गरेर, तिकडम गरेर, स्वार्थका पोकाहरू एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरूको समूह गयो होला सरकारमा चिन्ताको विषय होइन । त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भइहाल्छ ।’

उहाँले खेल क्षेत्रलाई महत्त्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताउनुभयो । खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उहाँले उल्लेख गर्नुभयो । अनुशासित भएर खेल्न सके सफलता प्राप्त गर्न सकिने भन्दै अध्यक्ष ओलीले खेलाडीहरूलाई अनुशासित भएर खेल्न सुझाव दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया