भारतको फौज घरमा सिकेको सीपले नेपालमै मनग्य आम्दानी

 बैशाख २१, २०७५ शुक्रबार १४:५५:५२ | श्यामशितल परियार
unn.prixa.net

श्यामशितल परियार/उज्यालो ।  

लमजुङ, वैशाख २०  – सुन्दरबजार मिलनचोककी चिजामाया गुरुङका श्रीमान भारतीय सैनिक हुनुहुन्छ । केही वर्षअघि उहाँ पनि श्रीमानसँगै भारत जानुभयो । श्रीमानसँगै घुमफिर गर्न भारत गएकी उहाँलाई सीप सिक्ने रहर पलायो ।

त्यसपछि, उहाँले भारतकै फौज घरमा ऊनीका कपडा बनाउने सीप सिक्न थाल्नुभयो । फौज घरमा उहाँले ऊनीका टोपी, मोजा, स्वेटर लगायत बुन्न सिक्नुभयो ।

त्यसपछि, उहाँ नेपाल फर्कनुभयो । घरमै ऊनीका कपडा बनाउन सुरु गर्नुभयो । घरमै अत्याधुनिक निटिङ (ऊनीका कपडा बुन्ने) मेशिन ल्याउनुभएको छ । उहाँ त्यसबाट ऊनीका कपडा बनाउनुहुन्छ । ‘हातले बनाउँदा नि हुन्छ तर मेशिनबाट छोटो समयमा धेरै कपडा बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

पैसा कमाउन समस्या छैन

गएको वर्ष मात्रै ५० वटाजति ऊनीका स्वेटर बनाएर बेचेको चिजामाया बताउनुहुन्छ । ‘एउटा स्वेटरलाई २ हजारदेखी ३ हजार रुपैयाँसम्ममा बेँचे,’ उहाँले भन्नुभयो, ‘ऊनीका कपडाको माग धेरै छ ।’

उहाँका अनुसार ऊनीको गुणस्तर र तौलका आधारमा भाउ निर्धारण हुन्छ । गर्न सके ऊनीकै कपडा बनाएर मनग्य कमाउन सकिन्छ । जाडो याममा झन् ऊनीका कपडाको माग धेरै हुन्छ । कपडा तयार गर्न सके राम्रो आम्दानी हुने नै भयो ।

उहाँले भारतमा सिकेको सीप उपयोग गर्दै घरमै बसिबसि राम्रो आम्दानी मात्र गर्नुभएको छैन आफूले सिकेको सीप अरु महिलालाई पनि सिकाउँदै आउनुभएको छ ।

‘एक वर्षदेखि महिलालाई ऊनीका कपडा बनाउन सिकाउँदैछु, हातमा सीप भए, मनमा जोसजाँगर भए पैसा कमाउन कुनै आइतबार कुर्नुपर्दैन,’ तालिम हलमा सहभागीलाई ऊनीका कपडा बनाउन सिकाउन व्यस्त रहेकी चिजामायाले जोसिलो पारामा भन्नुभयो । उहाँलाई एउटा स्वीटर तयार गर्न २/३ दिन लाग्छ ।  

 

आफ्नै खुट्टामा उभिन्छौँ

लमजुङ, सुन्दरबजारकी इन्दिरा चौधरीले धेरै पढ्नुभएको छैन । श्रीमानको कमाइकै भरमा बाँच्दै आएकी उहाँलाई ‘आफैँले केही सीप सिकेर आफ्नै खुट्टामा उभिनुपर्छ’ भन्ने ‘ईख’ मनमा पलाएको छ ।

त्यहि भएर उहाँ अहिले सीपमूलक तालिम सिकिरहनुभएको छ । सुन्दरबजार सामुदायिक सिकाई केन्द्रको आयोजना र जिल्ला शिक्षा कार्यालय लमजुङको सहयोगमा सञ्चालित ३ महिने होजियारी (ऊनीका कपडा तयार पार्ने) तालिममा सीप सिक्न उहाँ व्यस्त हुनुहुन्छ । तालिमपछि व्यावसायिक रुपमा अघि बढ्ने २५ वर्षीय इन्दिराको योजना छ ।

 

व्यवसायिक रुपमा अघि बढ्छौँ 

यसअघि कुनैपनि सीपमुलक तालिम लिनुभएको छैन, सुन्दरबजार–६, की शर्मिला कोइरालाले पनि । तालिम सकिएको भोलिपल्टै व्यावसायिक रुपमा ऊनीका विभिन्न कपडा तयार पार्ने काम थाल्ने शर्मिलाको अठोट छ । उहाँ भन्नुहुन्छ ‘सीप सिकेर व्यावसायिक रुपमा कामगरि आत्मनिर्भर बन्ने सपना बोकेर तालिम लिन आएको हुँ, तालिम सकिएपछि घरमै व्यवसाय सञ्चालन गर्ने हो ।’ 

आर्थिक रुपमा पछि परेका, हातमा सीप नभएका, फुर्सदी महिलालाई सीपमुलक तालिम दिई उनीहरुलाई व्यवसायमा लाग्न प्रेरणा जगाउनुका साथै उनीलाई आम्दानीको बाटो देखाउन ऊनीका कपडा तयार पार्ने तालिम दिएको सुन्दरबजार सामुदायिक सिकाई केन्द्रकी सामुदायिक परिचालक रश्मी पौडेलले बताउनुभयो ।
 
सहभागीले ऊनीका कपडा बुन्ने सीप सिकेका छन् । सहभागीलाई अत्याधुनिक ‘निटिङ मेशिन’को प्रयोग गरी ऊनीका मोजा, टोपी, स्वीटर, ब्लाउज, चौबन्दी चोलीलगायतका कपडा बुन्न उनै चिजामाया गुरुङले सघाउदै आउनुभएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया