दाङमा खोलाले कार बगाउँदा दुई जनाको ज्यान गयो, दुई जना बेपत्ता

 भदौ १७, २०७८ बिहिबार ७:२४:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको सिस्ने खोलाले गएराति कार बगाउँदा एकै घरका दुई जनाको ज्यान गएको छ । दुई जना बेपत्ता भएका छन् ।

घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका-४ सिस्नेखोलामा आएको बाढीले कार बगाउँदा घाेराही उपमहानगरपालिका-१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कुँवरको ज्यान गएको हो ।

घोराही-१३ का ४० वर्षीया रितामाया पुन र घोराही-१४ का ४२ वर्षीया विमला केसीलाई भने बाढीले बगाएर बेपत्ता बनाएको छ । बाढीमा हराइरहेका दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कारका चालक ४० वर्षीय नरबहादुर पुनकाे भने उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ । रुपैडियामा किनमेल गरेर फर्कँदै गर्दा  प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । चालक पुनको भने खुट्टा भाँचिएकाे र अहिले घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी रिजालले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया