'स्मार्ट' लाइसेन्सकाे विकल्पमा एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स

 भदौ १८, २०७८ शुक्रबार १९:५५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । 

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राहीले वर्ष दिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँले अहिलेका लागि काठमाण्डाैकाे एकान्तकुनामा रहेकाे  कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरूमार्फत वितरण गरिने पनि बताउनुभयो ।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि झन्डै सात लाख सेवाग्राही महिनौँ दिनदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताउनुभयो । उहाँले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले ६/७ महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताउनुभयो । उहाँले अबको एक/डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आए लगत्तै तीन शिफ्टमा काम गरेर भए पनि वितरण गरिने बताउनुभयो ।

विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आउँदो भदौ २० गतेदेखि सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुसार परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरिसकेको उल्लेख गर्नुभयो । उहाँले पहिलो चरणमा आवेदन दिएकाहरूका मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँका लागि आवेदन खोल्ने पनि बताउनुभयो । नयाँका लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने विभागका प्रवक्ता भुसालकाे भनाइ छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि ६ लाख जनाको आवेदन परेको छ । विभागले लाइसेन्सका लागि आवेदन अनलाइनबाटै लिने गरेको छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • दिनेश पौडेल

    Sept. 5, 2021, 6:40 a.m.

    लाईसेनको फम अन्लाईन वाट कसरी भर्ने होला ????

  •  0 Reply

तपाईको प्रतिक्रिया