१५ महिनापछि याे सरकारलाई खाेजेर पनि भेट्न सकिँदैन : केपी ओली

 भदौ २१, २०७८ सोमबार १९:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु बढीमा १५ महिना भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले १५ महिनापछि यो सरकारलाई खोजेर पनि भेट्न नसकिने दाबी पनि गर्नुभयो । 

राष्ट्रिय युवा सङ्घ नेपालले सोमवार काठमाण्डाैमा आयोजना गरेको वृहत् युवा भेलामा बोल्दै उहाँले यो सरकारलाई नेपाली नागरिकले छिटो भन्दा छिटो बिदा गर्नुपर्ने भन्दै पार्टीका युवाहरूलाई चुनावकाे तयारीमा जुट्न आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई केही दिनको पाहुनाको संज्ञा दिँदै भन्नुभयो, ‘अहिलेको सरकार शाश्वत होइन । यो सरकार अलिक दिनको मेजमान, पाहुना । बलजफ्ती आएको पाहुना । थोपरिएको पाहुना । षड्यन्त्रबाट जन्मेको पाहुना । अवैध सम्बन्धहरूको उपज पाहुना । यसलाई नेपाली नागरिकले सकेसम्म छिटो बिदा गर्नुपर्छ । तर छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनु पर्ने केही छैन । अर्को मङ्सिरसम्ममा चुनाव गर्नुपर्छ । कति रह्यो विचार गर्नुस् त । भदौ गइ गो, असोज, कात्तिक, मङ्सिर । अब १४ महिना रह्यो । अब १५ महिनामा त यो सरकारलाई खाजेर पनि भेटिँदैन । तपाईँहरू सुत्नु भो भने त यस्ता सरकारहरू त बनिरहन्छन् । तपाईँहरू सुत्नु हुँदैन । तपाईँहरू उठ्नु भाे भने त यस्ता सरकारहरू बिदा हुन्छन् । नागरिककाे सरकार बन्छ । देशभक्त सरकार बन्छ ।’

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसीसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सोझै संविधानलाई चुनौती दिने गरी उर्दी जारी नगर्न पनि सचेत गराउनुभयो । नागरिककाे बाेल्ने स्वतन्त्रतालाई समेत बन्देज लगाउन निर्देशन दिएको भन्दै उहाँले यस्तो सरकारलाई मात्रै तानाशाहीको संज्ञा दिन सकिने तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना नागरिक बेपत्ता हुँदासमेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार घरको बाघ, वनकाे स्याल हो । अब त सोझै संविधानलाई चुनौती दिएर उर्दी जारी गर्ने गर्‍या छ । बोल्न पाइँदैन । अहिले नबोल्न निर्देशन दिइन्छ । अब बोलेमा कारबाही गरिन्छ भनेर थर्काइन्छ । म भन्न चाहन्छु– शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण, विचार स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण विरोध गर्ने स्वतन्त्रता, विरोध प्रदर्शनकाे स्वतन्त्रता त्यो खोस्न सक्दैन । त्यो बाटो लिन थाल्यो भने त्यसलाई भन्छ– तानाशाह । र तानाशाही टिक्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ । तानाशाही टिक्नेवाला होइन । अहिले उहाँहरूले विकास, निर्माणको बारेमा बोल्ने गरेको सुन्नुभएको छ, तपाईँहरूले ? हाम्रो सरकार बनेको एक महिनामा मैले के–के काम गरेर, भनेर बोल्ने गर्दथेँ । अब के काम गर्ने भनेर बोल्थेँ । हामीले देशको बारेमा बोलेनौँ, नागरिककाे बारेमा बोलेनौँ । छिमेक सम्बन्धमा बखेडा निकाल्यौँ । नभएका समस्यामा समिति र आयोग बनाएर सम्बन्ध बिगार्ने बाटो बनायौँ । यसको आलोचना एमालेले गर्न थाल्यो । विपक्ष भएर बोल्न पाइन्छ, आलोचना गर्न पाइन्छ भनेर कराउन थाल्छन् । अरू केही भन्ने बाटो उनीहरूसँग छ ? भन्ने केही कुरा छ, विषय छ ? उनीहरूको दिमागमा देश छैन । उनीहरूको दिमागमा, चिन्तनमा नागरिक छैन । समृद्ध नेपाल सुखी नेपाली भन्दा त झसङ्ग हुन्छन् । कोही बोलेको सुन्नु भएको छ, तपाईँहरूले । समृद्ध नेपाल किन भन्न सक्दैनन् यिनीहरु ? सुखी नेपाली भन्दा किन आतिन्छन् यिनीहरू ? यी आफूमात्रै सुखी हुनुपर्ने । नागरिक सुखी हुुनुपर्छ भन्दा यिनीहरू आत्तिन्छन् । यी पाँच दलका कुनै नेताले समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट गरोस् त एक पल्ट । वेदको एउटा मन्त्रले भन्छ– सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामायाः । अब यिनले त्यो पनि भन्न सक्दैनन् । त्यो वेदमा पनि उनीहरू केपी ओली, ओली देख्छन् के । सर्वे भवन्तः सुखी (सबै सुखी होऊन्) । यो त केपी ओली, केपी ओली ताल भो, वेदैमा कसरी लेखियो ? उनीहरूलाई त्यो त्रास छ ।’

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर देखाउन पनि सत्तारुढ गठबन्धनलाई चुनौती दिनुभयो । उहाँले चुनाव जति नजिक आयो, एमाले प्रवेश गर्नेहरू लहर बढेर जाने दाबी गर्दै आफ्नो पार्टीलाई कसैले पनि एक्ल्याउन नसक्ने बताउनुभयो ।

उहाँले सरकारले कामै गर्न नसकेको भन्दै दर्जनौँ प्रश्न गर्नुभयो । उहाँले राष्ट्रियताको सबाल, नागरिकको जिउधनको सुरक्षाको सबालमा छिमेकी देशसँग बोल्ने आँट समेत सरकारले गर्न नसकेको पनि दोहोर्‍याउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया