यसरी छाइँदैछ काष्ठमण्डपकाे छानाे (तस्बिरहरू)

 भदौ २२, २०७८ मंगलबार १५:१०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको वसन्तपुरमा रहेकाे ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । २०७२ साल वैशाख १२ गते आएको भूकम्पले ध्वस्त बनाएको यस सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो । 

सातौँ शताब्दीमा बनेको यस सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिँगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।उहाँले यस सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने बताउनुभयाे ।  

समितिले पुरानै मौलिकतालाई कायम राखेर यस सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमुना उदाहरण पेस गर्न सक्षम हुने दाबीसमेत गरेको छ । समितिका अध्यक्ष शाक्यले भन्नुभयो, ‘यो सम्पदाको पुनर्निर्माणको काम नियमित भइरहेको छ । यो काम अब अन्तिमतिर आइरहेको छ । अब हामीले झिँगटी छाउने काम गरिरहेका छौँ । अब यो काम सम्पन्न गर्न अझै केही महिना लाग्छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर यसको पुनर्निर्माण हुन्छ । काष्ठमण्डप आफैँमा काठमाण्डाैकाे मौलिक सम्पदा हो । सातौँ शताब्दीमा बनेको काष्ठमण्डपको मौलिकतालाई बचाएर पुनर्निर्माण गर्नु ठूलो उपलब्धि हो । यो सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वकै लागि नमुना हो ।’

अहिलेसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ । काठमाण्डाै महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेकाे समितिका अध्यक्ष शाक्यले बताउनुभयो ।

काठैकाठको प्रयोग, झिँगटीको छाना, चारकुने इँटका गरा, लेसाइलो माटाेको लिपाइ र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो काष्ठमण्डप । समितिले यही मौलिक प्रविधिको उपयोग गरी पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ । 

झन्डै १९ करोड रुपैयाँ लागत अनुमान गरिएको यस ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सम्पदाको पुनर्निर्माणको काम अब छिट्टै सक्ने समितिको योजना छ । त्यही योजनाअनुसार छानो छाउने काम सुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया