स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाली देशहरूकाे प्रतिबद्धता

 भदौ २२, २०७८ मंगलबार १९:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना महामारीबाट पाठ सिक्दै र बिरलै मात्र आउने यस्तो अवसरको उपयोग गर्दै, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्र अन्तर्गतका देशहरूले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सहमत भएका छन् । उनीहरूले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरूको उत्थानशीलतालाई थप सबलीकरण गर्ने मन्त्रीस्तरीय प्रतिबद्धता घोषणा गरेका छन् ।

अहिले चलिरहेकाे ७४ औँ क्षेत्रीय समितिको बैठकका क्रममा मन्त्रीस्तरीय गोलमेचमा बोल्दै विश्व स्वास्थ्य सङ्गठन दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भन्नुभयो, ‘प्राथमिक स्वास्थ्य स्याहारमा केन्द्रित र सम्पूर्ण जनसङ्ख्यालाई समेट्ने बलियाे स्वास्थ्य प्रणालीले नागरिकलाई थप स्वस्थ, उत्पादक र आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्दछन् । उत्थानशील स्वास्थ्य प्रणाली आपत्कालीन तत्परता र प्रतिकार्यका आधारशिला हुन् र यस्ता प्रणालीले प्रकोपका घटना हुँदा अत्यावश्यक स्वास्थ्य सेवाहरू चालु रहेको सुनिश्चित गर्न मद्दत गर्दछन् ।’

मन्त्रीस्तरीय गोलमेचमा अनुमोदन गरिएको घोषणामार्फत सदस्य राष्ट्रहरूले स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यमा प्रगति गर्नका लागि आवश्यक राजनीतिक नेतृत्व र जवाफदेहीता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सदस्य राष्ट्रहरूले सार्वजनिक लगानी अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीलाई वृहत् प्राथमिक स्वास्थ्य सेवातर्फ पुनः अभिमुखीकरण गर्ने र त्यसमार्फत जनस्वास्थ्यसम्बन्धी आपत्कालीन प्रतिकार्य क्षमताका लागि र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि आधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘महामारीले स्वास्थ्यमा, विशेष गरी प्राथमिक स्वास्थ्य सेवाको तहको जनशक्तिमा लगानी गर्नुको महत्त्व तथा अत्यावश्यकतालाई प्रष्ट पारिदिएको छ । जनस्वास्थ्यसम्बन्धी आपत्कालको समयमा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न र उत्थानशील स्वास्थ्य प्रणाली निर्माण गर्नका लागि सुपथ, प्रभावकारी, गुणस्तरीय र सुरक्षित स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रा आवश्यक पर्ने कुरा पनि यस महामारीले देखाएको छ’, क्षेत्रीय निर्देशकले थप्नुभयो ।  

त्याे घोषणामा महामारीका क्रममा र महामारीपछिकाे समयमा अत्यावश्यक स्वास्थ्य सेवा र जनस्वास्थ्यका कार्यक्रम चालु राख्नका लागि समुदायलाई अझ संलग्न गराउने र समुदायहरूको सशक्तीकरण गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

जोखिममा रहेका र प्रभावित समुदायका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्नका लागि, सदस्य राष्ट्रहरूले जनस्वास्थ्य आपत्कालसम्बन्धी र विपद् जोखिम व्यवस्थापनसम्बन्धी रणनीतिहरूलाई एकीकृत गर्ने र प्राथमिक स्वास्थ्य स्याहारको तहमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्ने सहमति पनि जनाएका छन् ।

यसका साथै सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोगलगायतका नसर्ने रोगहरूलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाका लागि राष्ट्रिय गुणस्तर मापदण्ड स्थापना गर्ने र महामारी तथा पुनरुत्थानको क्रममा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

त्यसैगरी सदस्य राष्ट्रहरूले परम्परागत औषधि प्रणालीको सम्भाव्यताको उचित उपयोग गर्ने र साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारको पनि सर्वोत्तम उपयोग गर्ने सहमति जनाएका छन् ।

घोषणामा जनस्वास्थ्यसम्बन्धी आपत्कालहरूलाई सम्बोधन गर्न र सबैका लागि उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्न आवश्यक पर्ने राष्ट्रिय क्षमता विकासको कार्यमा विश्व स्वास्थ्य सङ्गठनको महत्त्वपूर्ण भूमिका लगायतका अतिरिक्त स्रोत तथा साझेदारीहरूको महत्त्वमाथि पनि जोड दिइएको थियो ।

‘मिलेर काम गर्दा हामी झन बलियो हुन्छौँ । मिलेर काम गरेर हामीले अत्यावश्यक स्वास्थ्य सेवाको अझ राम्रो पुनर्निर्माण गर्न सक्छौँ ताकि सबैका लागि अझ न्यायपूर्ण, स्वस्थकर, र स्वास्थ्य सुरक्षासहितको भविष्य निर्माण गर्न सकियोस् र कसैलाई पनि पछाडि नछोडियोस्’, क्षेत्रीय निर्देशकले भन्नुभयो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया