मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

 भदौ २५, २०७८ शुक्रबार १३:७:५७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – तराईं मधेशका जिल्लाहरुमा आज चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदैछ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउन लागिएको हो । विशेष धार्मिक महत्व एवम् अपार श्रद्धाकासाथ यो पर्व मनाउने गरिन्छ ।

विशेषगरी मधेशका जिल्लाहरुमा हिन्दू धर्मावलम्बीहरुले गणेश चतुर्थीका दिन याे पर्व मनाउने गर्छन् । साँझ ब्रतालुहरुले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्छन् । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहँदै आएको छ ।

यस विषयमा कथामा उल्लेख भए अनुसार चन्द्रमालाई आफ्नो सौन्दर्यमाथि धेरै घमण्ड थियो । उहाँको घमण्डका कारण भगवान गणेशबाट श्रापित भइ कलंकित भएको विश्वास गरिन्छ । एकपटक गणेशको सुँड भएको रुप देखेर चन्द्रमा हाँसेर अपमानित गरेपछि उहाँले तिमीलाई जसले हेर्छ त्यसलाई कलङ्क लाग्नेछ भनि श्राप दिएकाे कथामा उल्लेख छ ।

चन्द्रमाको अवस्था देखेर ब्रम्हाले श्रापबाट मुक्ति पाउन पूजाको विधि बताउँछन् । त्यही अनुसार चन्द्रमाले गजानन् गणेशको पूजा गरेपछि गणेश प्रसन्न भएर श्रापमुक्त गरिदिनुभएकाे जनश्रुती रहँदै आएकाे छ  । भदौ महिनाको शुक्ल चतुर्थीका दिन चन्द्रमालाई हेरेमा हेर्ने मान्छेलाई कलंक नलाग्ने र पापबाट मुक्ति पाउँने  कुरा कथामा उल्लेख छ ।

 यतिमात्र होइन भदौ चतुर्थीको चन्द्रमा दर्शन गरेपछि मनोवाञ्छित फल समेत प्राप्ति हुने विश्वास गरिन्छ। यसै कारण मधेशका जिल्लाहरुमा यो पर्व विशेष महत्व एवम् निष्ठापूर्वक मनाँदै आएको छ ।

यो पर्वमा ब्रतालु महिला दिनभरि निराहार रहेर पुरी, खीर, तथा विभिन्न प्रकारका पकवानहरु बनाउने गर्छन् । विभिन्न प्रकारका मीठाइहरुका साथै दहीको विशेष अनिवार्यता रहेको छ । यस पर्वमा कुमालले बनाएको माटाको भाँडाको अनिवार्यता रहेको छ । कुमालद्वारा निर्मित माटाको भाँडोमा दही जमाएर चढाउने यस पर्वको विशिष्टता रहेको छ । 

चौठीचान बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनका लागि ब्रतालु महिलाले पुरी तथा खीर बनाउनका लागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राखिने गरिन्छ । कुटानी पिसानी समेत पवित्रताकासाथ गरिन्छ । चौरचनका लागि जाँतोमा पिसेकाे चामलबाट पुरी बनाइन्छ ।​ चौरचनमा चढाइने प्रसादलाई पशुपन्क्षीले छोएमा वा जुठो गरिदिएमा अशुभ मानिन्छ । साथै चौरचनका लागि प्रयोग हुने प्रसादलगायतका सामग्रीहरु बच्चाहरुले नछाेउन् भनेर निकै सावधानी अपनाइन्छ । पूजा सामग्री बच्चा वा पशुपञ्छीले जुठो गरिदिएमा चर्मरोग हुने विश्वास रहेकाे छ ।

यस पर्वको अर्को विशेषता भनेकाे, याे पर्व पशुका लागि समेत मनाइन्छ । परिवारका सम्पूर्ण सदस्य तथा पशुहरुको नामबाट समेत कौरना, छाँछ, मटकुडा, कौरनी आदिमा दही जमाएर चढाउने मान्यता रहँदै आएको छ । पशुको नामबाट चौठीचान्दको नाममा पूजा गरेपछि रोग–व्याधिबाट मुक्ति पाउनुकासाथै समृद्धि प्राप्ति हुने जनविश्वास छ ।

साँझको समयमा आँगनमा माटो र गोबरले लिपपोत गरिन्छ । हँसिया आकारको चन्द्रमा पश्चिम–दक्षिणतर्फ आकाशमा देखिएपछि अर्घ दिइन्छ । कुनै वर्ष कालो बादल लागेर वा पानी परेर चन्द्रमा आकाशमा नदेखेपछि केहीबेर हात जोडेर दर्शन दिन बिन्ती गरिन्छ । यस विषयमा मैथिलीमा यस्तो गीत समेत चर्चित छ ‘आब हौ चोैठीचान, लपक हौ पुडी‘।’
 

अन्तिम अपडेट: बैशाख १, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया