प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट

 भदौ २५, २०७८ शुक्रबार १९:१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । आज बेलुका बालुवाटार पुगेर सुमारले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको हो ।

भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल र अमेरिकाबीचको सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आज बिहान सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा मन्त्री पम्फा भुसालसँग भेट गर्नुभएको थियो । भेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै यसलाई पारित गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको हो । आफूहरूको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उहाँको भनाइ थियो ।

भेटमा उपाध्यक्ष सुमारले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गर्नुभयो । उहाँले आफूहरू कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले याे नियमित भ्रमण भएको बताउनुभएको थियो । माओवादी केन्द्रभित्र एमसीसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गर्नुपर्ने दुई थरी विचार छ ।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच पनि आजै सिंहदरबारमा भेट भएको छ । भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र नागरिकको चाहनाअनुसार नै निष्कर्षमा पुगिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया