रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
खाेटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षामा सहभागी हुन रुखमा टाँड (डेरा) बनाएका छन् ।
सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा डेरा बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागी भइरहेका छन् । मगरले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताए।
विद्यालयले साउन २४ गतेदेखि अनलाइन कक्षाका माध्यमबाट पठनपाठन सुरु गरेको हो । तर, नवलपुर सिम्लेमा मोबाइलको डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन । कमजोर कनेक्सनकै कारण धनकुमार ८/९ दिनसम्म अनलाइन कक्षमा सहभागी हुन सकेनन्।
मगर भन्छन्,-‘घरभन्दा माथिकाे डाँडामा निस्केर प्रयास गरेँ तर माेबाइलकाे डाटा कनेक्सन राम्रो देखिएन । अनि एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ। नभन्दै अझ राम्रो कनेक्सन देखायो । अनि जुम मिटिङमा जोडिन सफल भएँ।'
पढाइ छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोजेर भेट्टाएका हुन्। ‘दिनभरि रुखमा बसेर कक्षामा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ’उनले भने ।
पढाइप्रति मगरले देखाएको लगाव र आकर्षणको निक्कै प्रशंसा भइरहेको छ । रुखमा बनाएकाे डेरामा पुग्नका लागि घरबाट १० मिनेट उकालो र थोरै तेर्सो हिँड्नुपर्छ । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले गर्व महसुस गराएको सरस्वती मावि अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताउनुभयो।
सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । आउँदाे असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाले भदौ २२ गते सूचना जारी गरेको छ ।
१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । भाइ नयन कक्षा ८ मा अध्ययनरत छन् । बुवाले अर्को विवाह गरेर छाडेपछि मगर दाजुभाइ आमासँग बसिरहेका छन् ।
तस्बिर सौजन्य : नविन चाम्लिङ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
chintamani dahal
Sept. 12, 2021, 5:47 a.m.अरवौं रुपियाँको सपना बाँड्ने सरकार ...अनि धेरै फुर्ती लगाउने टेलिकमका लागि धन बहादुर मगरको खबरले आँखा खोल्थ्यो कि ??