दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका २ वडा कार्यालयमा फेरि ताला

 भदौ २८, २०७८ सोमबार २०:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माको वडा कार्यालयमा ताला लगाइएको छ ।

असहमति जनाउँदा–जनाउँदै वडावासीको अपायक पर्ने ठाउँमा वडा कार्यालयको भवन बनाइएको, एउटा प्लट जग्गा देखाएर दुई ठाउँको जग्गा वडा कार्यालयको नाममा पास गरेर ढाँट्ने काम गरिएको लगायतका आरोप लगाउँदै सोल्माका असन्तुष्ट स्थानीयवासीले सोमवार वडा कार्यालयमा ताला लगाएका हुन् । 

जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडा सभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष सप्तमनि राईको अगुवाइमा गएका स्थानीयवासीले कर्मचारीलाई बाहिर निकालेर वडा कार्यालयमा ताला लगाएका हुन् । वडा कार्यालय सोल्मामा ताला लागेको यो दोस्रो पटक हो ।   

सोल्माको होस्मा टोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालयलाई डाँडागाउँमा रहेको बसपार्क नजिकै निर्माण गरिएको नयाँ भवनमा सारिएपछि विवाद सुरु भएको हो । गएको वैशाख २८ गते वडा कार्यालय सार्ने क्रममा पनि स्थानीयवासीले अवरोध गरेका थिए । वडा कार्यालयको भवन बनाइएको जग्गा साढे तीन रोपनी छ । त्यसबाहेक झन्डै तीन सय मिटर तल डेढ रोपनी जग्गा वडाको नाममा पास गरिएको असन्तुष्ट स्थानीयवासी बताउँछन् ।   

सोल्मामा स्थायी रूपमा वडा कार्यालय राख्ने विषयमा सुरुदेखि नै विवाद थियो । अन्तिममा असहमतिकै बीच वडा कार्यालयलाई स्थायी रूपमा डाँडागाउँमा राख्ने टुङ्गो लगाइएकाले विरोध जनाउनुपरेको जसपाका जिल्ला सदस्य नछुङले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया