आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदै : कोरोनाविरुद्धको खोप सुनिश्चित गर्नुपर्नेमा जोड

 भदौ २९, २०७८ मंगलबार ७:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा राखेको छ । पछिल्ला वर्ष विश्वव्यापी कोरोना महामारीका कारण बालबालिकाको नियमित पठनपाठनमा असर पुगेको छ ।

साथै दुर्गम गाउँ र बस्तीमा रहने बालबालिका अनलाइन कक्षाबाट वञ्चित हुनुपरेको अवस्था छ । अठार वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा छन् ।

दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीन तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । साथै बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन सबै पक्षको ध्यानाकर्षण गर्नुभएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोरोना विरुद्धको खोप दिन सरकार पूर्ण प्रयासरत रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना संदेशमार्फत उहाँले कोरोनाबाट प्रभावित बालबालिकाका लागि हरेक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको बताउनुभयो ।

महामारीको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेकोमा प्रधानमन्त्री देउवाको जोड छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया