नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माको वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।
वडावासीले असहमति जनाउँदा–जनाउँदै अपायक पर्ने ठाउँमा वडा कार्यालयको भवन बनाइएको तथा एउटा जग्गा देखाएर दुई ठाउँको अन्य जग्गा वडा कार्यालयको नाममा ढाँटेर पास गरिएको भन्ने लगायतका आरोप लगाउँदै सोल्माका असन्तुष्ट स्थानीयवासीले हिजाे सोमवार वडा कार्यालयमा ताला लगाएका थिए ।
वडा कार्यालयमा लगाइएको ताला प्रहरी परिचालन गरेर आज मङ्गलवार खोलिएको हो । ताला खोलेपछि कर्मचारीले नियमित काम गरिरहेको सोल्माका वडाध्यक्ष हर्क खत्रीले बताउनुभयो ।
जनता समाजवादी पार्टीका जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडा सभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष सप्तमनि राईको अगुवाइमा गएका स्थानीयवासीले वडा कार्यालयमा ताला लगाएका थिए ।
वडा कार्यालय सोल्मामा ताला लागेको यो दोस्रो पटक हो । वडा कार्यालय भवनको ठाउँ छनाेटका विषयमा असहमति जनाउँदै आएका स्थानीयवासीले गएकाे असार ५ गते लगाएको ताला भदौ १५ गते प्रहरी परिचालन गरेर खोलिएको थियो ।
सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट वडा कार्यालय सञ्चालन हुँदै आएको अवस्थामा डाँडागाउँमा वडाको पक्की भवन बनाइएको हो ।
सोल्मामा स्थायी रूपमा वडा कार्यालय राख्ने विषयमा सुरुदेखि विवाद हुँदै आएको छ । अन्तिममा असहमतिकै बीच वडा कार्यालय स्थायी रूपमा डाँडागाउँमा राख्ने टुङ्गो लगाइएकाले विरोध जनाउनुपरेको जसपाका जिल्ला सदस्य नछुङले बताउनुभयो ।
अवरोधकै कारण वडाको कतिपय सामान अहिलेसम्म नयाँ भवनमा सार्न सकिएको छैन । वडा कार्यालयको भवन बनाइएको जग्गा साढे तीन रोपनी छ । त्यसबाहेक झन्डै तीन सय मिटर तल डेढ रोपनी जग्गा वडाको नाममा पास गरिएको असन्तुष्ट स्थानीयवासी बताउँछन् ।
वडा कार्यालयको भवन निर्माणका लागि तीन ठाउँकाे जग्गा प्राप्त भएपछि उपयुक्त जग्गा छनाेटका लागि नगरपालिकाका प्राविधिकलाई जिम्मा दिइएकामा सेटिङमा एउटै कित्ता भन्दै अपायक पर्ने दुई कित्ता जग्गा पास गराइएको नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष राईले बताउनुभयो ।
फरक–फरक ठाउँमा भएको खण्ड जग्गाको सट्टा प्लट भएको जग्गा छनाेटका लागि महिना दिनको समय दिइएको भए पनि बेवास्ता गरिएको कांग्रेस वडा सभापति पुरीले बताउनुभयो ।
गएकाे वैशाख १८ गते नै उद्घाटनको तयारी गरिएको वडा कार्यालयको भवन कोभिड–१९ को महामारी र स्थानीयवासीकै विरोधका कारण रोकिएको छ ।
वडाध्यक्ष खत्रीले भवन निर्माण भइसकेपछि अड्को थाप्नुको अर्थ नभएको बताउनुभयाे । नेकपा एमालेमा फुट आएपछि पनि वडाको स्थान र भवनसम्बन्धी विवाद थप पेचिलो बनेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।