सरकारकाे खर्च केही दिन राेकिन सक्छ : अर्थ मन्त्री शर्मा

 भदौ २९, २०७८ मंगलबार १६:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – विनियोजन विधेयक २०७८ पारित नभएपछि सरकारले राज्य कोषबाट भाेलि बुधवारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थ मन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिनुभयो ।

नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो । अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’ का रूपमा लिइन्छ । अघिल्लो सरकारले अध्यादेशबाट गएकाे जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गएकाे साउन ४ गते सङ्घीय संसदमा पेस भएको थियो ।

अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ । त्यस आधारमा भाेलि बुधवारसम्म विनियोजन विधेयक पारित गरिसक्नुपर्ने थियो । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलले निरन्तर अवरोध गरिरहेको छ । आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको छ । अर्थ मन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिँदै नियमित प्रक्रियाबाटै बजेट पारित गरिने बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आउँदाे असोज ४ गतेका लागि राखिएको छ । अर्थ मन्त्रीले राजस्व उठाउने विषयमा कुनै अवरोध नहुने र नियमित नै हुने बताउनुभयो । पाँच/सात दिन खर्च गर्न नहुन सक्छ । राजस्व सङ्कलनमा भने कुनै अवरोध हुँदैन, अर्थ मन्त्री शर्माले भन्नुभयो ।

पेस्की विधेयक ल्याउन लाग्नुभएको हो र भन्ने सञ्चारकर्मीको जिज्ञासमा अर्थ मन्त्रीले त्यसतर्फ सरकारको कुनै सोच नरहेको बताउनुभयो । उहाँले एकाध दिन खर्च गर्न नपाए पनि नियमित प्रक्रियाबाटै विनियोजन विधेयक पारित गरिने उल्लेख गर्नुभयो ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेट गएकाे साउन ३ गते संसदमा पेस गरिएको थियो । विपक्षी एमालेको चर्को नाराबाजीका बीच अर्थ मन्त्री शर्माले यही भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेस गर्नुभएको थियो । अर्थ मन्त्रीले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताउनु भए पनि सदनमा एमालेको अवरोध जारी छ । हिजाे सोमवार सभामुखले आयोजना गर्नुभएकाे सर्वदलीय बैठकमा एमाले सहभागी भएन । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया