सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारिनेछ : प्रधानमन्त्री देउवा

 भदौ ३०, २०७८ बुधबार १४:५५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे बताउनुभएकाे छ । ललितपुरकाे नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर सुधार गर्न भविष्यमा थप कार्यक्रम गर्ने बताउनुभयाे । 

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयले उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । 

सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ । साथै उहाँले विद्यालयको भौतिक सुधारपछि गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।  

विसं २०७२ वैशाखमा गएको भूकम्पबाट देशका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएकामा त्याे काममा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । जापानको ऋण सहयोगमा १२ करोड तीन लाख रुपैयाँको लागतमा याे विद्यालय निर्माण गरेको हो ।  

जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिनुभयो । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार पाँच सय ५३ विद्यालयमध्ये अहिलेसम्म ६ हजार ६ सय ४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी पुनर्निर्माणका क्रममा छन् । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले भूकम्पबाट देशमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो । अग्रजहरूले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रूपमा चिनिएको भन्दै उहाँले आउँदा दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी गराउँदै सबैको सामूहिक प्रयासले मात्र यो सम्भव भएको हो भन्नुभयो । पुनर्निर्माणका क्रममा नागरिकले प्रत्यक्ष रूपमा विभिन्न लाभ प्राप्त गरेको बताउँदै उहाँले पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराउनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो औल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मत गरी दुरुस्त राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन मिश्रले विद्यालय निर्माणमा आवश्यक सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया