भूकम्पपछिकाे पुनर्निर्माणका बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण

नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँडिने

 भदौ ३०, २०७८ बुधबार १८:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासलगायतका संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गर्न सुरु गरेकाे छ । 

आज बुधवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवम् सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बा तथा सडक एवम् पुलको काम हस्तान्तरण गरिएको हो ।

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।

यसका साथै सरकारी, सार्वजनिक भवन एवम् स्वास्थ्य संस्था र अहिले केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत सञ्चालित सम्पदा एवम् गुम्बाको पुनर्निर्माणसम्बन्धी काम पनि विभागलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का आयोजना निर्देशक श्याम किशोर सिंहले ती बाँकी काम सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गर्नुभएको हो ।

यसका साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवम् प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माणसम्बन्धी बाँकी काम पनि सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले ती काम सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गर्नुभयो ।

शैक्षिक संस्थाको पुनर्निर्माणसम्बन्धी बाँकी काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यसअन्तर्गतका तोकिएका जिल्लामा रहेका कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

यी बाँकी रहेका काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी सडक तथा पुल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ । अब यो विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्बाकाे पुनर्निर्माणसम्बन्धी काम पनि गर्नेछ ।

उल्लेखित बाँकी काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टालाई हस्तान्तरण गर्नुभयो ।

पुनर्निर्माण गर्न बाँकी रहेका कामसहित सम्बन्धित केन्द्रीय एवम् जिल्ला आयोजना कार्यान्वयन इकाइअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजु विवरण एवम् कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् ।

हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायले तत्कालै पुनर्निर्माणका काम सञ्चालन गर्नेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष आठ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये प्रायः सबै काम सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताउनुभयो ।

ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आउँदाे मङ्सिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माणसम्बन्धी मार्गचित्रसहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले हस्तान्तरण भएर आएका काम तोकिएको समयभित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यही भदाै ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २० औँ बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका काम सम्बन्धित निकायमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पुनर्निर्माण गर्न बाँकी रहेका काम हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आउँदाे पुस १० गतेसम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवम् नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको रणोद्वीप दरबारको पुनर्निर्माणको काम हेर्नेछ । यस्तै लेखा परीक्षणका साथै हस्तान्तरण गर्ने कामको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका काम पनि सम्पादन गर्नेछ ।

पुनर्निर्माण प्रगति (२०७८ असार ३१)

पुनर्निर्माण लाभग्राही

अनुदान सम्झौता गरेका लाभग्राही : ८,२९,६६७
पहिलो किस्ता लिएका लाभग्राही : ८,२८,७६३ (९९.८९ प्रतिशत, अनुदान सम्झौताका आधारमा)
दोस्रो किस्ता लिएका लाभग्राही : ७,५०,४५९ (९०.४५ प्रतिशत)
तेस्रो किस्ता लिएका लाभग्राही : ७,०३,३०७ (८४.७७ प्रतिशत)

विद्यालय भवन

लक्ष्य – ७५५३
पुनर्निर्माण सम्पन्न – ६,६४७ (८७.६६ प्रतिशत)
पुनर्निर्माण जारी – ९३६ (१२.३४ प्रतिशत)

स्वास्थ्य संस्थाका भवन

लक्ष्य – ११९७
पुनर्निर्माण सम्पन्न – ७५१ (६४.५२ प्रतिशत)
पुनर्निर्माण जारी –  ३५४ (३०.४१ प्रतिशत)

सांस्कृतिक सम्पदा

लक्ष्य – ९२०
पुनर्निर्माण सम्पन्न – ५८६ (६३.७० प्रतिशत)
पुनर्निर्माण जारी – १९५ (२१.२० प्रतिशत)

सरकारी भवन

लक्ष्य – ४१५
पुनर्निर्माण सम्पन्न – ३८८ (९३.७२ प्रतिशत)
पुनर्निर्माण जारी –  २० (४.८३ प्रतिशत)

सुरक्षा निकायका भवन

लक्ष्य – २१६
पुनर्निर्माण सम्पन्न – २१६ (१०० प्रतिशत) 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया