भारतमा मजदुरी गर्दा रेलले खोसेको भीमको खुसी

 भदौ ३१, २०७८ बिहिबार १३:५९:४३ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – त्यो बेलामा न भीमबहादुर बोहोरालाई रेलको गति बारे थाहा थियो । न त रेल चढेको अनुभव । 

मजदुरी गर्न बैतडीबाट भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका भीम साथीको साथमा रेल कुद्ने पटरी पार गर्दै हुनुहुन्थ्यो । 

रेलको पटरीमा भोला र उहाँको साथी पुग्दा निकै पर, रेल आउँदै गरेको आँखाले अलिअलि ठम्याउँथ्यो ।

त्यति परको रेल आइपुग्दासम्म त पटरी कटिसक्छ भन्ने आत्मविश्वास थियो मनमा । पारी पट्टी पुगिहाल्ने हतारमा हिँडेका भीममाथि कति बेला त्यो परको रेल कुद्यो पत्तै पाउनुभएन । रेल हिँड्ने बाटोमा हिँडेका भीमको पाइलाले जमिन टेकेको दिन त्यो नै अन्तिम बन्यो । 

कुरा सन् २००४ को जति बेला बैतडीको डिलाशैनी गाउँपालिका २ का भीमबहादुर भारतको नयाँ दिल्लीमा मजदुरी गर्नुहुन्थ्यो । 

त्यसदिन पनि ड्युटी सकेर कोठामा फर्कंदै हुनुहुन्थ्यो । सँगै बस्ने भारतीय साथीले भने ‘मेरो आफन्तको कोठा त्यही पर छ, पसेर जाऊ ।’

भीमबहादुर र साथी दुवै जना रेलको पटरी हुँदै पारी जान खोज्दै थिए ।  

आँखाले निकै पर देखेको रेल निमेषभरमै उनीहरू छेउमा आइपुग्यो । त्यसपछि के भयो भीमलाई थाहा छैन । 

जब थाहा भयो त्यो बेला अस्पतालको बेडमा शरीर मुढो झैँ लडिरहेको थियो । त्यो मुढो झैँ भएको शरीरमा प्राण थियो । तर हिँड्ने दुई खुट्टा र खाने दाइने हात थिएन । 

चल्न खोज्दा असजिलो भयो ।

भीमले त्यही नजिकै भएका नर्सलाई सोध्नुभयो, ‘मेरो शरीर किन चल्दैन ?’

नर्सले भने, ‘चोट लागेर हो ।’

भीमले आफ्नो शरीर तिर हेर्नुभयो । चोट त जीन्दगीभर निको नहुने पो लागेको रहेछ ।

‘न खुट्टा देख्छु न दाहिने हात, हल्लाउन खोज्छु केही नै चल्दैन,’ त्यो कहाली लाग्दो क्षण सम्झँदै भीम भन्नुहुन्छ, ‘म त त्यहीँ बेहोस भए छु ।’

वरिपरि शून्यता थियो । न आफ्ना कोही थिए । थियो त दुवै खुट्टा र एउटा हात नभएको मुढो झैँ शरीर । 

आफ्नो खबर घरमा कसैले नभनिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो भीमलाई । 

त्यो बेला भीमको मन विचलित थियो । सोच्नुहुन्थ्यो,‘चल्ने खुट्टा र खाने हात नै बाँकी छैन, अब कसरी बाँच्ने, कसरी पो बाँचेजस्तो लाग्छ नि अहिले पनि, त्यो बेला त मर्नै पाएको भए हुन्थ्यो जस्तो लाग्थ्यो ।

जब नालीमा फालेको खबर घरमा आयो

भीम उता मुढो झैँ भएका बेला डिलाशैनीमा रहेको घरमा ‘तिम्रो श्रीमानलाई त नालीमा फालेको छ रे’ भन्ने खबर आयो । 

भीमकी  श्रीमती गीता बोहोरा भन्नुहुन्छ,‘इण्डियाबाट आएका गाउँका मानिसले तिम्रो बुढो त नालीमा फालिरहेको भेटेर स्वास्थ्य चौकी लगेको छ भने, त्यो बेलाको कुरा सम्झँदा त अहिले पनि मुटु फुट्ला जस्तो हुन्छ,’ गीता भक्कानिनुभयो ।

धान रोपेर दसैँ खर्च चलाउने चलन गाउँमा नौलो होइन । भीम पनि बिहे गरेको चार महिनामा कमाउन परदेश हिँड्नुभएको थियो । दसैँमा फर्कने भन्नुभएको थियो परिवारमा पनि । तर समयले भीमलाई दुई वर्षसम्म दिल्लीमै रोक्यो । श्रीमान् फर्कि आउने दिन गनिरहनुभएकी गीताको कानमा आफ्नो मानिस जीवन र मृत्युसँग लडिरहेको खबर आइपुग्यो । 

भीमको खबर सुनेपछि गीतासहित भीमका तीन दाजुभाइ दिल्ली पुगे । 

‘शरीरमा खुन नै थिएन, पुरै सेतो पिठो जस्तो भएको रहेछ, हात नाइँ खुट्टा नाइँ, त्यस्तो देख्दा कस्तो हुन्छ,’गीता भन्नुहुन्छ,‘ अहिले पनि त्यो क्षण सम्झँदा त मरौंजस्तो लाग्छ ।’ पीडाको कुनै सीमा हुँदैन । त्यही असीमित पीडाबोध गर्नुभयो गीताले पनि । 

कमाएर संसार सजाउन हिँडेको जीवन साथीको दुवै खुट्टा छैनन् । भात खाने हातसम्म छैन । श्रीमानलाई यही अवस्थामा देख्दा, असह्य पीडा हुँदा कति पटक त गीता सोच्नुहुन्थ्याे अब जीवन बेकार छ । बाँच्नुको कुनै अर्थ छैन ।

‘मरौँ कि बाँचौँ हुन्थ्यो, रोएर मात्र पनि नहुने, मलाई त दिल्लीतिर रेलको छेउमा गएर मरौंजस्तो लाग्थ्यो,’ गीता भन्नुहुन्छ,‘त्यो बेला त अब गरिखान सकिन्छ जस्तो कति पनि लागेको थिएन नि ।’

तर मानिसलाई हरेक कठिन समयले अझ बलियो बनाउँछ र जीवनमा अघि बढ्न सघाउँछ । गीताको हकमा पनि यही भयो । 

भीमको ६ महिनासम्म दिल्लीमै उपचार भयो । त्यसपछि भने घर ल्याउन मिल्ने भयो । शरीरको चोटहरू निको हुँदै गए । शरीरमा लागेको घाउ निकै हुँदै गएपछि परिवारकै सल्लाह भीमलाई घर ल्याइयो । 

अहिलेजस्तो २००४ तिर गाउँ गाउँमा गाडी पुग्दैन थियो । झुलाघाटसम्म गाडी चल्थ्यो । त्यहाँबाट डिलाशैनीसम्म डोकोमा बोकेरै ल्याइयो । 

‘हामी उताबाट आउँदै छौँ भनेपछि उहाँका दाइ भाइहरु डोको लिएर लिन जानुभएको थियो, सात आठ दिन लगाएर डोकोमा बोकेर घरसम्म ल्याएको हौँ,’गीता त्यो समय सम्झिनुहुन्छ । 

घर आएपछि सुरु भयो अर्को सङ्घर्ष 

 भीमको शरीर घरसम्म त आइपुग्यो । घर आएपछि भने झन् अर्को सङ्घर्ष सुरु भयो । 

दिल्लीमा छँदा बरु अस्पतालमा नर्सहरूले सेवा गर्थे । गाउँघरमा मेलापात र घरधन्दा गर्दै श्रीमती गीतालाई भीमको उचित ख्याल राख्न हम्मे हम्मे पर्न थाल्यो ।

‘उहाँलाई यहाँ ल्याएपछि त झन् धेरै पिर पर्‍यो, केही गर्न सक्नुहुन्थ्यो, खाना खुवाउनेदेखि चर्पी लैजानेसम्म आफैँले गर्नु पर्ने,’ गीता भन्नुहुन्छ,‘एउटा सानो बच्चालाई जसरी नै उहाँलाई हुर्काउनु पर्ने अवस्था भएको थियो ।’

भीमको दिसा पिसाब एकै ओछ्यान र लुगा मै हुन थाल्यो । गीता एक पलका लागि कतै निस्कँदा भीमको शरीर पिसाबमा डुब्थ्यो । 

भीमलाई पनि त्यो बेलामा आफ्नो अवस्था देखेर मनले हरेस खाइसकेको थियो । मुढो झैँ शरीर घिसारेर जीवन कहिलेसम्म चल्ला ? भीम आत्तिनुहुन्थ्यो । तर समयले भीमलाई बाँच्न सिकायो । 

अप्ठेरो परिस्थितिमा परिवारले सघाए । भीमलाई पनि कृत्रिम खुट्टा र हात मिल्यो । कृत्रिम खुट्टा लगाएपछि भीम आफैं चर्पीसम्म पुग्न सक्ने हुनुभयो । श्रीमानले चर्पी आफैँले गर्न सक्ने भएपछि गीतालाई पनि खेतबारीको कामदेखि मेलापातमा जान पनि सहज हुँदै गयो । 

‘दिसापिसाब एकै भएको देख्दा त मलाई साह्रै रुन मन लाग्थ्यो, त्यो बेलामा मेरो सासू ससुरा परिवारका सबैले साथ दिनुभयो, हामी छौँ नआत्तिनुभन्नुभयो,’गीता भन्नुहुन्छ,‘उहाँहरूले नै एउटा पसल खोलिदिनुभयो ।’

घरमै किराना पसल भएपछि नुन तेल खान पुग्न थाल्यो । गीतालाई गाउँमा स्वयमसेविकाको काम पनि मिल्यो ।

गीताले आफ्नो व्यवहार आफैँ गर्न सक्ने भएपछि परिवारको सल्लाहमै छुट्टिनुभयो । 

दुई बालबच्चा जन्मिए । गीताको काँधमा जिम्मेवारी थपियो । उहाँले बाख्रा, भैँसी र खेतीपाती गरेर बालबच्चा र श्रीमानको रेखदेख आफैँ गर्नुभयो । 

व्यवहार त जसोतसो चल्दै छ । गीतालाई पिर पनि बढ्दो छ । भीम आजकाल रक्सी खान थाल्नुभएको छ । घाँस दाउरा गर्न जाँदा पनि घाँसको भारीले भन्दा बढी श्रीमानको पिरले थिच्छ उहाँलाई ।

‘केही भयो कि, रक्सी खाएर लडिरहेको छ कि जस्तो लाग्छ, तनाव हुन्छ के गर्नु उसलाई मात्र हेरेर मात्र बस्न पनि सकिन्न, गाउँमा काम नगरी खान पुग्दैन,’गीता दुखेसो पोख्नुहुन्छ ।

छोराछोरी त बढ्दै गएका छन् । तर श्रीमानको अवस्था झन् नाजुक हुँदा गीताको मनमा अत्यास पनि बढ्दो छ । 

एक्लो ज्यानले गरेको दुःखले बालबच्चाको स्कुल फीदेखि श्रीमानको रेखदेखसम्म पुर्‍याउन मुस्किल छ । पहिले किनेको कृत्रिम खुट्टा र हात पनि अहिले त लगभग फाल्ने अवस्था भइसकेको छ । तर आर्थिक अभावका कारणले गीताले नयाँ खुट्टा किन्न सक्नुभएको छैन ।

‘गाउँघरमा भोकै त बस्न पर्दैन, तर पैसा हुँदैन, पैसा नहुँदा उपचार त गर्न सकेको छैन, खुट्टा कहाँबाट फेर्नु,’गीता भन्नुहुन्छ ।

भीमलाई पनि दिनभरि घरमा यसै बस्न पर्दा मन बहकिन्छ । गाउँपालिकाले आफूजस्ता व्यक्तिका लागि एउटा कृत्रिम खुट्टा मात्रै व्यवस्था गरिदिए पनि हुन्थ्यो जस्तो उहाँलाई । तर पटक पटक आफ्नो समस्या राख्दा पनि पालिकाले बेवास्ता गर्दा भने भीमलाई झन् कमजोर महसुस हुन्छ । 

‘मेरो दुई खुट्टा र एउटा हात छैन, के म यो संसारमा कुनै काम नै लाग्दिन त ?’ भीम प्रश्न गर्दै भन्नुहुन्छ,‘अहिले मेरो शरीर कुनै काम विहीन बोझ मात्र भएको छ ।’

श्रीमती गीतालाई पनि गाउँपालिका अथवा कोही सम्बन्धित निकायले श्रीमानको कुरा सुनिदिए मात्र पनि केही अवस्था सुध्रिन्थ्यो कि जस्तो लाग्छ । 

‘अरू जस्तै ठमठमी हिँड्ने रहर त मलाई पनि छ नि, के म जस्तालाई भुइँमा टेक्ने अधिकार पनि छैन र ?’ भीम प्रश्न गर्नुहुन्छ ।

गुमेको हात, खुट्टा फिर्ता नभए पनि सबैले सहयोग र समान व्यवहार गरे बलियो आत्मविश्वासका साथ जीवन जिउँथें भन्नुहुन्छ ।

अन्तिम अपडेट: मंसिर १७, २०७९

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया