ओखलढुङ्गामा प्रहरीले टिकटक चलाउन नपाउने

 भदौ ३१, २०७८ बिहीबार १६:३३:४७ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुङ्गा – ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । 

सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले प्रहरी कर्मचारी ड्यिुटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्नुपर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

‘प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । ड्यिुटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन’, उहाँले भन्नुभयो, ‘प्रहरी कर्मचारीले फेसबुक, ट्विटर, टिकटकलगायत आफ्नो हितका लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोस्ट गर्नुपर्नेबारे सचेत गराएका छौँ ।’ 

देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोसाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी समसामयिक विषयमा समेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया