कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिखित नतिजामा नाम नभएको विद्यार्थी उत्तीर्ण

 असोज १, २०७८ शुक्रबार १३:१८:१० | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्टाफ नर्सको परीक्षामा लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थी उत्तीर्ण भएपछि विवाद भएको छ ।

लिखितमा नाम नभएकी सपना न्यौपानेको मौखिक पछिको परीक्षामा नम्बर एकमा नाम निक्लेको भन्दै प्रतिष्ठानले  अस्ति सूचना निकाले पछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिष्ठानले  लिएको लिखित परीक्षामा स्टाफ नर्स पदको लिखित परीक्षाका लागि जम्मा ५० जना सहभागी हुन सूचना जारी गरेकोमा सपना न्यौपानेको नाम नभएकाे तर मौखिक परीक्षा पछिको अन्तिम नतिजामा नाम प्रकाशन भएपछि विवाद भएकाे हाे। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिस्ट्रार नृपेन्द्र महतले कुनै नियतवश नभइ प्राविधिक त्रुटिका कारण यस्ताे भएकाे बताउनु भएकाे छ ।

'कुनै नियतवश यस्ताे कार्य गरिएकाे हैन । कोडिङ प्रणालीमा सजिलो होला भन्ने हिसाबले गरिएको थियो । अर्कैकोमा कोडिङ परेको रहेछ ' उहाँले भन्नुभयाे । 

छानबिन गर्न स्थानीय प्रशासनलाई पत्राचार 

जिल्ला समन्वय समिति जुम्लाले छानबिन गर्न स्थानीय प्रशासनलाई पत्राचार गरेकाे छ । गम्भीर त्रुटि भएपछि जिल्ला समन्वय समितिले स्थानीय प्रशासनलाई पत्राचार गरेको कार्यवाहक प्रमुख कार्मा बुढाले जानकारी दिनुभयो । स्थानीय प्रशासनलाई जिसस जुम्लाले भदौ ३१ गते पत्राचार गरेकाे हाे ।

पत्राचारमार्फत परीक्षाको वास्तविकतामाथि छानबिन गरेर परीक्षार्थीलाई न्याय दिलाउन र प्रतिष्ठानको छवि बचाउन आग्रह गरिएकाे छ । 

प्रतिष्ठानमा कहिलेकाँही यस्ता लापर्बाहीका घटना हुने गरेका छन् । यसअघि पूर्व उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेको समयमा एक परीक्षा लिखित स्थान राष्ट्रिय पत्रिकामा समेत जुम्ला केन्द्र तोकिए पनि काठमाण्डौ गरेपछि विद्यार्थी आन्दोलित भएका थिए ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया