नेपाल–चीन सीमा अध्ययन टोली हिल्सा पुग्यो

 असोज १, २०७८ शुक्रबार १५:१४:१२ | रासस
unn.prixa.net

फाइल फाेटाे

हुम्ला – नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली हुम्लाको लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरी हिल्सा पुगेको छ । 

सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झन्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । 

टोलीले नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेको छ ।  नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिमी लाप्चाको १२ नं सीमास्तम्भमा पुगेका थिए । लाप्चापछि टोली हिल्सा पुगेको हो । नाम्खाको किटखोलामा रहेको ५ नम्बर सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सा गएको हो । 

सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा चीनसँगको सीमा अध्ययन समिति गठन गरेको थियो । टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल हुनुहुन्छ ।

हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव आचार्यले बताउनुभयो ।

मन्त्रालयको टोली भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया