अलमलिएर एमालेमै बसेकाहरू ढिलाे–चाँडाे हाम्राे पार्टी आउँछन् : नेता नेपाल

 असोज १, २०७८ शुक्रबार १७:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताउनुभएको छ । 

आज शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अलमलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरू ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताउनुभएको हो । उहाँले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रूपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गर्नुभयो । पार्टीको ७७ वटै जिल्लामा सङ्गठन बनिरहेको पनि उहाँले बताउनुभयो । 

नेता नेपालले भन्नुभयो, ‘पार्टीको ७७ वटै जिल्लामा सङ्गठनहरू बनिरहेका छन् । हामीले २०७७ चैत ४ र ५ गतेपछि बनाएका पार्टी र सबै जनवर्गीय सङ्गठन रूपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन । पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा एमालेभित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमानदार र निष्ठावानहरू अहिले यो पार्टीमा आबद्ध भएका छन् । कतिपय मानिसहरू अझै त्यहाँ अलमलिएका होलान्, असल मानिसहरू पनि भ्रमवश बसिरहेका होलान् । असल भावना भएका मानिसहरू पनि । उनीहरूले ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उनीहरूलाई हामी स्वागत गर्नेछौँ ।’

अध्यक्ष नेपालले व्यवसायीहरूलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउन पनि आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरूलाई जलविद्युत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गरी देश निर्माणमा योगदान पुर्‍याउन आग्रह गर्नुभयाे । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया