‘ओली डे’ मा हाँसियो, ‘होलिडे’ मा नाचिन्छ !

 असोज २, २०७८ शनिबार ११:५१:९ | मिलन तिमिल्सिना
unn.prixa.net

दुई महिना अघिसम्म ओलीको दिन थियो, अर्थात 'ओली डे' थियो । ओलीले जे चाह्यो र जे भन्यो, त्यही हुन्थ्यो । 'ओली डे' रहँदासम्म देश ओलीमय थियो । टिभीमा ओली, पत्रिकामा ओली, अनलाइनमा ओली, पोलमा ओली, बिहानको बेसार र बेलुकाको रक्सीको झोलमा पनि ओली ।

बिहानदेखि बेलुकासम्म जताततै ओलीका मात्रै कुरा हुन्थे । एकथरी भन्थे – ओलीले बसीखान दिएनन्, निकाल्नुपर्छ । अर्काथरी भन्थे–ओलीले बसीबसी खान दिएका छन्, निकाल्न हुँदैन । समर्थन पनि ओलीको, विरोध पनि ओलीको । कुरा ओलीको । वादविवाद पनि ओलीको । हरेक क्षण ओलीको कुरा, हरदिन ओलीको कुरा ! सण्डेदेखि फ्राइडेसम्मका हर दिन र शनिवारको होलिडे पनि ओलीमय भएकाले सण्डे, मण्डे, होलीडे सबै छायाँमा परे । सबै छायामा परेपछि दिनहरु 'ओली डे' मा रुपान्तर भइसकेका थिए ।

'ओली डे' मा कसैले आँखा चिम्लेर ओलीको मात्रै गुणगान गाइरहे, कसैले सबैथोक बिर्सेर धारेहात मात्रै लगाइरहे । धेरै दिनको कुस्ताकुस्तीपछि ओलीको गुणगान गाएर नथाक्नेहरुलाई धारेहात लगाउनेहरुले जिते । ओलीतिर मात्र फर्किरहने कुर्सीका पासा उत्तानो परेर पल्टियो । देशपछि देउवा, प्रचण्ड र माधवहरुका दिन फिरे । उनीहरुको दिन फिरेपछि देशमा बल्ल खोजेजस्तो अग्रगमन हुन थालेको छ । देशमा यसअघि कहिल्यै नभएका कुरा हुन थालेका छन् । नागरिकले कहिल्यै नसुनेका कुरा सुनिन थालेका छन् । इतिहासमै पहिलो पटक बजेट होलिडे भएको छ । बजेट होलिडे अर्थात बजेट बिदा । सरकारी खर्च र हरहिसाब बिदा । सरकारसँग पैसा छ, खर्च गर्न मिल्दैन । नागरिकसँग पैसा छैन, खर्च गर्नै पर्दैन । देशमा खर्च गर्न नमिल्ने, नपाउने अर्थात खर्च गर्नै नपर्ने अवस्था आएको छ । 

कोरोनाले थाल खाउँ न भात खाउँ भएका नागरिकलाई खुशी र सुखी बनाउनकै लागि सरकारले बजेट होलिडे सुरु गरेको हो । 'ओली डे' छँदा नागरिकभन्दा सरकार धनी थियो । नागरिकलाई एकसुको खर्च गर्न पनि मुश्किल हुने, सरकार भने दिनहुँ अर्बौं अर्बको खर्च गर्न सक्ने । यस्तो असमानताले नागरिकमा सरकारप्रति वितृष्णा थियो । सरकारले हेप्यो भन्ने आत्मग्लानि थियो । सरकारसँग रिस थियो । बजेट होलिडेपछि त सरकार र नागरिक समान हैसियतमा आइपुगेका छन् । सरकार पनि खर्च गर्न नसक्ने, नागरिक पनि खर्च गर्न नसक्ने । माधव नेपालको पार्टीले कल्पना गरेको समाजवाद भनेको शायद यही हुनुपर्छ ।

माधव नेपाललाई पार्टी फुटाएर हिँड्न सजिलो पारेका देउवाले उनकै पार्टीको मार्गचित्र अनुसार देश अगाडि बढाएर कीर्तिमान नै कीर्तिमान बनाएका छन् । देउवाको पालामा भएका कीर्तिमानको हिसाब गरेर के साध्ये ? पहिले जम्बो मन्त्रिपरिषद् बनाएर देउवाले कीर्तिमान राखेकै हुन् । अहिले ५ जना मन्त्रिपरिषद्ले पूरै कार्यकाल धान्ने नयाँ कीर्तिमान खडा गर्न दत्तचित्त देखिन्छन् । कहिले धेरै मन्त्रिपरिषद् बनाएर कीर्तिमान, कहिले मन्त्री विनाको मन्त्रिपरिषद् बनाएर कीर्तिमान । यस्तै इतिहास रच्ने क्रममा सबैभन्दा पछि थपिएको नयाँ कीर्तिमान हो बजेट होलिडे । सरकारले बजेट होलिडे मनाएर यस अघि कसैले बनाउन नसकेको नयाँ कीर्तिमान बनाएको छ । 

बजेटको होलिडे सुरु भएपछि ओली डे मात्र हैन, अरु सबै कुरा छायाँमा परे । अस्तिसम्म चर्किएको एमसीसी विवाद सामसुम भएको छ । सरकारलाई पूर्णता दिने र संसदको अवरोध हटाउने कुरामा ब्रेक लागेको छ । मान्छेको मन कोरोना र खोपका हरहिसाबमा जान छोडेको छ । अस्तिसम्म एमसीसी झुण्डिएको मुखमा अब बजेट होलिडे प्रतिस्थापन भइसकेको छ । सरकारले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक पास नभए पनि बहस गर्नेहरुको मुखमा बजेट होलिडे त प्रतिस्थापन भएर बस्न सफल भएको छ नि !

बजेट होलिडे नभएको भए मान्छेको दिमागमा कतिथरी मात्रै कुरा चल्थे ? एमसीसी, सरकार विस्तार, संसद अवरोध, कोरोना, खोप, विद्यालय सञ्चालन, दशैँको तयारी, शेयर बजारको उतारचढाव .. के के हो के के ! यी सबै कुरा एकैपटक दिमागमा खेल्दा मान्छे मानसिक रोगी बन्थे । सबैलाई मानसिक अस्पताल लैजानुपर्ने अवस्था आउँथ्यो । दिमागमा धेरै कुरा एकैपटक चल्न सक्ने अवस्थालाई मत्थर पार्न बजेट होलिडे ल्याइएको हो ।

बजेट होलिडे खडा गरेर अरु जल्दाबल्दा समस्या छायाँमा पार्न अर्थात छोप्न सक्नु सरकारको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो । कोरोनाले स्कुल क्याम्पस बन्द थिए । महिनौँ होलिडे भएका स्कुल क्याम्पस बजेट होलिडे सुरु भएपछि खुल्न थाले । उसैगरी होलिडे मनाएका सिनेमाघर, डान्स रेष्टुरेन्ट, पार्टी प्यालेस, रात्रि व्यवसायमा पनि चहलपहल बढ्न थाल्यो । 

लकडाउन र निषेधाज्ञाले लामो होलिडे मनाएका अनेक क्षेत्रहरु बजेट होलिडे सुरु भएपछि पछि खुल्नु संयोग मात्र हैन । बन्द भएका सबै क्षेत्र एकैपटक खुल्दा बन्दको मज्जा नपाइने भएकाले सरकारले योजनाबद्ध तयारीका साथ बजेट होलिडे सुरु गरेको हो । मज्जाको लागि केही न केही बन्द भइरहनुपर्छ अर्थात होलिडे हुनुपर्छ । होलिडे भएन भने फेरि 'ओली डे' सुरु हुन्छ । होलिडेको बीचमा पनि ओली 'ओली डे' ल्याउन तम्सँदैछन् । उनको इच्छा पूरा हुनबाट रोक्न पनि नयाँनयाँ होलिडेबारे सोच्नुपर्छ । अरु होलिडेभन्दा बजेट होलीडे खर्चको मितव्ययिता अपनाउन तथा सरकार र नागरिक समान छन् भनेर देखाउने सबैभन्दा ठूलो अस्त्र हो । यो अस्त्र देखेरै सरकारको प्रभावकारिता जाँच हुने भएकाले सरकारले बजेट होलिडे सुरु गरेको कुरामा कुनै शङ्का छैन ।

सरकारले भन्दा पहिले किसानले कहिलेकाहीँ मिल्क होलिडे गर्थे, हिजोआज त्यो हुँदैन । मिल्क होलिडेमा किसानले क्यानका क्यान दूध सडकमा फाल्थे ! बजेट होलिडे सुरु भएपछि मेरा आँखाले सडकमा पैसा खोज्न थालेका छन्, किनकि मिल्क होलिडेमा सडकमा दूध पोखे जस्तै बजेट होलिडेमा सरकारले नोटका बिटा फाल्ला कि भन्ने मेरो बुझाइ छ । सरकारले बजेट होलिडे सुरु गरेपछि नोटका बिटा तान्न र छान्न पाइन्छ भन्ने तपाईँलाई पनि लागेको छ भने 'ओली डे बिर्सेर आउनोस् बजेट होलिडेमा रमाऔँ!

अन्तिम अपडेट: बैशाख १२, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया