चिनियाँ टोली नआएपछि साञ्जेन जलविद्युत् आयोजनामा स्थानीय प्राविधिकलाई खटाइने

 असोज २, २०७८ शनिबार १३:२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा इलेक्ट्रो मेकानिकलतर्फ मेसिन जडान गर्नका लागि स्थानीय प्राविधिकलाई खटाइने भएकाे छ। 

चिनियाँ प्राविधिक तथा कामदार आउन समस्या भएपछि कम्पनीले स्थानीय प्राविधिकलाई खटाउनका लागि छलफल अघि बढाएको छ । सेप्टेम्बरको पहिलो हप्तामा चिनियाँ टोली आउने बताए पनि अहिलेसम्म आएका छैनन् ।

चिनियाँ प्राविधिक तथा कामदार ल्याउनको लागि प्रयास भइरहेको आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो । ‘प्राविधिक तथा कामदार ल्याउने प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, ‘उनीहरू आउन असम्भव भएमा स्थानीय प्राविधिक ल्याएर काम अघि बढाउँछौँ।’

आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकलतर्फको काम अन्तिम चरणमा पुगिसकेको छ । आयोजनाका अनुसार अहिलेसम्म ९९ प्रतिशत भौतिक प्रगति भएको छ । तालिका अनुसार काम हुन सकेको भए दशैँ अगाडि नै उत्पादन सुरु हुने थियो ।

उपकरण जडानको काम सुरु भएमा करिब ९ महिनामा विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । १४.८ मेगावट क्षमताको आयोजनाको इलेक्ट्रो मेकानिकलतर्फ ७० र हाइड्रो मेकानिकलतर्फ ९० प्रतिशत काम सम्पन्न भएको छ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते आयोजनाको पीपीए भएको थियो । आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको छ।

आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । सिभिल ठेकेदार ईसीआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ । सिभिल कार्यमा ईसीआई बज्रगुरु जेभी, इलेक्ट्रो मेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेसन, हाइड्रो मेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म ७ किलोमिटर प्रशारण लाइन निर्माण गर्नुपर्छ । मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिरहेको आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया