‘याे गठबन्धन बरफकाे डल्ला हाे, चुनावपछि पग्लिहाल्छ’

 असोज २, २०७८ शनिबार १७:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गर्नुभएकाे छ । आज शनिवार नेपाल निजामती कर्मचारी सङ्गठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको बरफका डल्ला जस्तै पग्लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन, थरथर काम्दै डराउँदै । चुनाव प्रतिगमन हुन्छ त, के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा ? अब १४ महिनापछि चुनाव त गर्नुपर्छ । के देश अनिवार्य रूपमा प्रतिगमनमा जाने भयो त चुनाव गर्दा । जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो ? संविधान मिचिएको हो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरूले ? तर चुनाव गराउन यिनीहरू बाध्य छन् । तपाईँहरूलाई दुःख, कष्ट यसबीचमा दिन सक्छन् । धेरै चिन्ता नगर्नुस् । चौध महिनामा चुनाव हुन्छ । पन्ध्र महिनामा सरकार बन्छ । यी कता हराउँछन् । कता बिलाउँछन् । यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैँ परेको आइस् होइन यो । फ्रिजमा बनाइएका आइस हुन् । यी डल्ला बाहिर राखिदिएपछि एकछिन पछि पग्लिहाल्छन् । त्यस कारण धेरै चिन्ता गर्नुपर्दैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीहरूलाई जुनसुकै पार्टीको भए पनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिनुभयो । जुन पार्टीको सरकार भए पनि कर्मचारीहरूले आफ्नो कर्तव्य, नियम, कानुनको परिधिभित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले खरबाैँ रुपैयाँ तल–माथि पर्ने गरी सेटिङमा करका दरहरू हेरफेर गरेको बताउनुभयाे । सरकारले सेटिङमा खरबौँ रुपैयाँ रुपैयाँ तल–माथि पर्ने गरी करको दर हेरफेर गरेको उहाँले बताउनुभयो । आम मानिस र सञ्चारमाध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उहाँले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने, कसो गर्ने भन्ने खरबाैँकाे खेल भइसक्यो । यति बेर बीचमा आएर करका दरहरू यत्रो ठूलो ढङ्गले देशलाई करोडौँको, अरबौँको मात्र होइन खरबौँको तल–माथि पर्ने गरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरू खुलेआम भनिराखेका छन्– यो सेटिङ हो, सञ्चारमाध्यम लेखिराखेको छ, बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरूलाई भन्न चाहन्छु, याे सङ्गठन स्वच्छताकाे प्रतीक बन्नुपर्छ ।’ 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया