एमालेबाट चाेइटिएर गएकाहरू समाप्त हुनेछन् : महासचिव पाेखरेल

 असोज २, २०७८ शनिबार १७:५१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने बताउनुभएको छ । आज शनिवार नेपाल निजामती कर्मचारी सङ्गठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको बताउनुभयो ।

पाेखरेलले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताउनुभयो । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने महासचिव पाेखरेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले देखा परेको नकारात्मक धार, को–को नेता गए, को–को नेताहरू चोइटिएर गए त्यो छोडिदिनुस् । म एउटा कुरा भन्न चाहन्छु– त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार, त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन । त्यो अन्त्य हुनेछ भन्ने कुरा तपाईँहरूलाई म भन्न चाहन्छु । किनभने नेकपा एमालेले बोकेको चरित्र भनेको एकताको पक्षपोषण गर्ने, विभाजन होइन, विखण्डन होइन, एकताको पक्षमा दृढतापूर्वक उभिने हो । विभाजित भएर जानेहरू, चोइटिएर जानेहरू, ती रहने छैनन् । ती समाप्त हुनेछन् । हिजोदेखिका सबै कुराहरू हामी सम्झना गरौँ । विभाजन टिकेन । विभाजन थामिएन । विभाजनको भविष्य अन्धकार थियो । अहिले पनि अन्धकार छ । त्यो टिक्दैन । त्यो समाप्त हुन्छ भन्ने कुरा बुझ्नुपर्ने छ । यो राष्ट्रिय आवश्यकतालाई बेवास्ता गरेर जुन एउटा गलत कर्म भएको छ, त्यसको अन्त्य हुनु स्वाभाविक हो ।’ 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया