सङ्घीय संसद् ठिक बाटोमै अघि बढिरहेको छ : सभामुख सापकोटा

 असोज २, २०७८ शनिबार २०:९:४७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले सङ्घीय संसद् ठिक बाटोमै अघि बढिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले आज शनिवार आयाेजना गरेकाे विधायिकी खुलापन र लोकतन्त्र मेला कार्यक्रममा सभामुख सापकाेटाले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलो विश्वविद्यालय बनेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ जारी भएको नेपालको संविधान महत्त्वाकाङ्क्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ । लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो ।

सङ्घीय संसद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको सभामुख सापकाेटाले बताउनुभयो । उहाँले भन्नुभयो, संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कमजाेरी छ । कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मेहनत र इमानदार प्रयास आवश्यक छ । 

प्रतिनिधि सभा विघटन प्रतिनिधि सभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा के–कस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्छ । 

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र सङ्घीयता कार्यान्वयनको प्रतिफल नागरिकले के–कति प्राप्त गर्न सके त्यसको गहन समीक्षा हुनुपर्ने धारणा राख्नुभयो ।    

राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले लामो सङ्घर्ष र ठूलो बलिदानीको उपलब्धिका रूपमा संविधान सभाबाट जारी भएको संविधानका उल्लेखित मौलिक अधिकार लगायतका विषयवस्तु कार्यान्वयन गरी नागरिकलाई परिवर्तनको अनुभूति प्रदान गर्न सबैको इमानदार प्रयासको खाँचो औल्याउनुभयाे । 

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोकतान्त्रिक मूल्य–मान्यतालाई राजनीतिक दल, नागरिक समाज र भ्रातृ सङ्गठनलाई एक ठाउँमा भेला भएर नागरिक र देशकाे हित प्रवर्द्धनका लागि अनुभव साटासाट गर्न सकियोस् भन्ने हेतुले संविधान दिवसका अवसरमा लोकतन्त्र मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा संविधान सभा सदस्य एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र सङ्घीयताः हिजो, आज र भोलि, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले संविधान र समावेशिता तथा अधिवक्ता माधवकुमार बस्नेतले संविधान र मौलिक हक विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नेपाल कानुन आयोगका निवर्तमान अध्यक्ष माधव पौडेलले टिप्पणी गर्नुभयो । 

कार्यक्रममा सभापति मेघी गुरुङद्वारा लिखित नेपालमा कानुनको सामाजिक जाँच (उत्तरविधायिकी परीक्षण) नामक पुस्तिकको लोकार्पण गरियो । समारोहमा संसद् सचिवालयका पूर्वमहासचिवत्रय ईश्वरप्रसाद उपाध्याय, सूर्यकिरण गुरुङ र मनोहरप्रसाद भट्टराईलाई उहाँहरूले पुर्‍याउनुभएकाे योगदानको स्मरण गर्दै सम्मान गरियो ।   

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया