गायिका विष्णु माझीलाई 'प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

 असोज ३, २०७८ आइतबार १०:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ ।

संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् ।

गएको तीजमा उहाँले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेको भन्दै उहाँको खोजी समेत गरिएको छ । 

विवाहित चेलीको वेदना समेटिएको गीतमा तीजमा माइत जाने, आमाले पकाएको दर खाने चेलीको रहर, घरका दुःख, श्रीमानबाट पाउने यातना प्रस्तुत गरिएको छ । यो गीत उहाँकै श्रीमान सुन्दरमणि अधिकारीले नै लेख्नु भए पनि धेरैले यो गीत माझीकै जीवनमा आधारित रहेको अनुमान लगाएका छन्।

माझीलाई आफ्नै श्रीमानले बन्धकमा राखेको भन्ने हल्लासमेत चलेको छ तर यसको कुनै पुष्टि भएको छैन । माझी सार्वजनिक नहुनुको कारण रहस्यमा नै छ । साङ्गीतिक क्षेत्रमा सफल हुन थालेसँगै गायिका माझी सार्वजनिक जीवनमा हुनुहुन्न् ।

गीत रेकर्डिङ गर्दासमेत अनुहार छोपेर स्टुडियो जाने कुरा बाहिरिने गरेको छ । काठमाण्डौमै भए पनि गायिका विष्णु माझी इन्टरनेट र सामाजिक सञ्जालमा कतै भेटिनुहुन्न् । रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी माझी गीत गाउन स्टुडियो धाउनेबाहेक अन्य कुनै सार्वजनिक कार्यक्रममा जानुहुन्न् ।

उहाँ माइती घर समेत नजाने गरेको पाइएको छ । स्याङ्जाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु माझी परिवारकी जेठी छोरी हुनुहुन्छ । गायिका माझीको अवस्था सार्वजनिक गर्न दबाब बढे पछि केही समय अघि स्याङ्जामा रहेको उहाँको माइतीमा प्रहरी सोधपुछका लागि पुगेको थियो ।

यस अघि पनि यस्तै दबाब परे पछि प्रहरीले माझीलाई सोधपुछका लागि बोलाएको थियो । तर, उहाँले आफ्नै इच्छाले गुमनाम जीवन बाँचिरहेको बताए पछि यो विषय त्यसै सेलाएको थियो । यसपालिको तीजमा ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भए पछि फेरि उहाँ सार्वजनिक हुनु पर्ने कसरा उठिरहेको छ ।

यतिबेला सरकारले उहाँलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने घोषणा गरे पछि धेरैलाई उहाँ पदक लिन जानुहोला कि नजानु होला भन्ने जिज्ञासा लागेको छ । संविधान दिवसका अवसरमा सरकारले उहाँसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ ।

अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नु हुनेछ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shiva Shaknar Gautam Gautam

    Sept. 19, 2021, 10:28 a.m.

    बिचरा यी दिदिलाइ जुन पदक दियनी के गर्नु बुर्का लगायर समाज सङ लुकेर हिड्नेलाइ ?? तै यो पदक थाप्न आफै गयत धेरै राम्रो अनुहार देखिन्थो कि??

  •  0 Reply

तपाईको प्रतिक्रिया