अझै पनि संविधान मान्दैनाैँ भन्नु जनतालाई धाेका दिने कुरामात्रै हाे : अध्यक्ष ओली

 असोज ३, २०७८ आइतबार १५:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताउनुभएको छ । आज आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताउनुभएको हो । 

संविधान जारी गर्दाताका केही मतभेद भएको भए पनि अहिलेको अवस्थामा संविधान सर्वस्वीकार्य बनेको उहाँले बताउनुभयो । मधेश केन्द्रित दलहरूप्रति लक्षित गर्दै उहाँले नेपालको संविधानको निष्ठा र बफादारिताका साथ शपथ खाइ लाभको पदमा पुग्ने र संविधानमा मतभेद कायम नै छ भन्ने दोहोरो नीति नागरिकलाई धोका दिने कुरामात्रै भएको उहाँले बताउनुभयो ।

संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा राख्ने बेला सर्वसम्मति भएको उल्लेख गर्दै उहाँले संविधानको आधारभूत प्रस्तावना, मूल्य–मान्यता सही छन् भन्ने कुरामा सर्वस्वीकार्यता भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अझै पनि संविधान दिवस नमनाऔँ भन्ने कुरा अथवा संविधानमा हाम्रो मतभेद छ भन्ने कुरा अथवा संविधान मान्दैनौँ भन्ने कुरा जनतालाई धोका दिने कुरामात्रै हो । त्यसो भन्ने हरेक नेताहरूले संविधानको सम्बन्धमा शपथ ग्रहण गरेका छन् । हरेकले नेपाली जनतामा सार्वभौमसत्ता रहेको नेपालको संविधान विना सर्त स्वीकार गर्दै म यो शपथ ग्रहण गर्छु भनेका छन्, कसैले ईश्वर साक्षी राखेर भनेका होलान् । कसैले देश र जनता साक्षी राखेर भनेका होलान् । हरेकले संविधानको शपथ खाएका छन् । अनि यस्तो दोहोरो नीति हुनु हुँदैन । एकातिर लाभका लागि संविधानको शपथ खाने, संविधानप्रतिको निष्ठा र बफादारिताको शपथ खाने । अरू भाषामा बोल्दा बुझ्दैनन् कि भनेर कहिले–कहिले आफ्नै भाषामा शपथ खाने ताकि आफ्ना आसपासका जनताले बुझून् भनेरै होला । आफ्नै भाषामा शपथ खाने कुरा पनि बेस्सरी चल्यो एकपल्ट । त्यसरी शपथ खाने एकातिर, अर्कातिर सधैँ मतभेद कायम छ भन्ने नक्कली कुरा हो । संविधानले गरेका आधारभूत प्रस्तावनाहरू, मूल्यमान्यताहरू सही छन् भन्ने कुरा सर्वस्वीकार्य बनेको छ ।’

अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनका लागि असंवैधानिक, अलोकतान्त्रिक र गैरकानुनी क्रियाकलाप भएको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि यस्ता क्रियाकलापले वाधा सिर्जना गर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतप्रति लक्षित गर्दै संविधानको व्याख्याको नाममा संशोधन गरिएको आरोप पनि लगाउनुभयो । उहाँले संविधानमा स्पष्ट व्याख्या गरिएको कुरालाई उल्लङ्घन गरेर अर्को कुरा गर्नु व्याख्या नभइ संशोधन भएको तर्क गर्नुभयो । संविधान संशोधनको अधिकार संसद्को दुई तिहाइलाई मात्रै भएको भन्दै उहाँले यस्तो काम अन्तैबाट हुनु खतरनाक भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी फोड्ने, पार्टी फोड्नका लागि अनेक तमासा । अलोकतान्त्रिक, असंवैधानिक, गैरकानुनी र अनैतिक खालका क्रियाकलाप पार्टी फोड्नका लागि गरिए । त्यो संविधानको रक्षाको सन्दर्भमा, कार्यान्वयनको सन्दर्भमा र यसलाई विकसित गर्दै अगाडि बढाउने सन्दर्भमा गम्भीर वाधाका रूपमा यी चिजहरू पैदा भएका छन् । जसप्रति हामी सजग, सतर्क हुनुपर्दछ । संविधानको व्याख्याको नाममा जे हुँदैछ, त्याे व्याख्या होइन, व्याख्याको नाममा संशोधन । संविधानमा भएका चिजको व्याख्या हुन्छ । संविधानमा स्पष्ट व्याख्या गरिएका चिजलाई उल्लङ्घन गरेर अर्कै चिज गर्नुलाई व्याख्या भनिँदैन संशोधन हो । जसको अधिकार संसद्को दुई तिहाइलाई मात्रै छ । अरूसँग छैन । तर अन्यत्रैबाट यस प्रकारका काम हुन थालेका छन् र राजनीतिक उद्देश्यमा ती प्रयोग हुन थालेका छन् । जुन खतरनाक कुरा हो देशका लागि ।’ 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया