देश, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ : अध्यक्ष प्रचण्ड

 असोज ३, २०७८ आइतबार १९:२२:३१ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ ।

जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ । अहिले नआउने पनि केही समयपछि आउनुहुन्छ ।’

उहाँले माओवादी आन्दोलन र यसले उठाएका एजेन्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ । एक चोटी देशलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ । सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ । त्यस कारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरि एकताबद्ध हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।’

‘हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसीसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्’, अध्यक्ष प्रचण्डले भन्नुभयोे, ‘हामीले गठबन्धनमा एमसीसी र गठबन्धन कुन मुख्य हो भनेर छलफल पनि गरेका छौँ । गठबन्धन रक्षा नै देश, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो । एमसीसी परिमार्जन र संशोधनविना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाइ यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न ।’ 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया