एमाले स्थायी कमिटीमा विधान संशोधनबारे छलफल

 असोज ३, २०७८ आइतबार २०:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको आसन्न विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल सुरु भएको छ ।

ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आज आइतवार भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेस भई छलफल सुरु भएको र भाेलि सोमवार दिउँसो १ बजेको बैठकमा छलफल जारी रहने एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । 

आजको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा. पुष्प कँडेलले भाग लिनुभएको थियो । 

यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन तय गरिएको छ । एमालेकोे केन्द्रीय कमिटीको गएकाे साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो ।

विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयताकाे व्यवस्थाबारेमा छलफल भइरहेको जनाइएको छ । प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आउँदाे मङ्सिर १० देखि १२ गतेसम्म हुने तय गरिएको छ ।

एमालेले राष्ट्रिय महाधिवेशनअघि असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको छ । पार्टीले विसं २०७५ जेठ २ गते सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाउने र विसं २०७५ जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया