नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आज मङ्गलवार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेतशार्दूल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताउनुभएको हो । उहाँले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताउनुभयो ।
आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजीवी र नागरिक समाजले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्तिको दिन वितरण गरिएकोजस्तो पदक हामीले वितरण गरिएको भए बाबा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ, कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरिदिएको छ, ती पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् । हामीलाई कुनै टाउको दुखेको होइन । यति धेरै पदक त कहिले पनि बाँडिएको थिएन होला ? रत्नपार्कमा बसेर वितरण गरिएकोजस्तै छ क्या ह्वारह्वार । म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजीवीहरुले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? चुपचाप । आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’
अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकाङ्क्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गर्नुभयो । सरकारले युवा पुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उहाँको आरोप छ । उहाँले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोधसमेत गर्नुभयो । सरकारतर्फ हेरे अशुभ हुने ओलीकाे तर्क छ ।
कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गर्नुभयो । उहाँले भण्डारीले नेपाली राजनीतिमा पुर्याएकाे योगदानको चर्चासमेत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।