नेपाल 'एक चीन नीति' काे पक्षमा सधैँ उभिनेछ : राष्ट्रपति भण्डारी

 असोज ७, २०७८ बिहिबार १७:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल 'एक चीन नीति' को पक्षमा सधैँ उभिने बताउनुभएको छ । 

आज बिहीवार राष्ट्रपति भवन शीतल निवाशमा सी चिनपिङ: चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपाल एक चीन नीतिमा सधैँ उभिएको बताउनुभएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र देश चीनका जायज चासो र सरोकारप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पार्नुभएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै यस क्षेत्रमा दुई देशबीचकाे साझेदारीलाई थप सघन तुल्याउनुपर्ने सुझाव दिनुभएको छ । 

राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाइ सबैको पहुँच सुनिश्चित गर्ने चिनियाँ राष्ट्रपति सीकाे मानवतावादी प्रतिबद्धताबाट नेपाललगायत विश्वका धेरै देश लाभान्वित भएको भन्दै चिनियाँ नेतृत्वको उच्च प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच परापूर्वकालदेखि नै मैत्रीपूर्ण घनिष्ट सम्बन्ध रहिआएको बताउनुभयो । उहाँले भूगोल र प्रकृतिले नेपाल र चीनलाई एक–अर्कासँग निकट बनाएकाे उल्लेख गर्दै दुई देशलाई महान् बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताउनुभयो ।

राजदूत यान्छीले दुवै देशका लागि पारस्परिक मित्रता एवम् विकासमा विकसित भएको साझेदारीलाई महत्त्वपूर्ण रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया