वैशाखसम्म सबैलाई काेराेनाविरुद्धकाे खाेप लगाइसक्ने याेजना छ : प्रधानमन्त्री देउवा

 असोज ७, २०७८ बिहीबार १८:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खाेप लगाइसक्ने सरकारको योजना रहेको बताउनुभएको छ । आज बिहीवार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । 

उहाँले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुःखेसो गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अघि वासुदेव वर्माजीले भन्नुभयो, उहाँलाई कोरोना भएछ, उहाँको बुबाको कोरोनाको कारण निधन भएछ, बहुत दुःख लाग्यो मलाई, कपिलवस्तुमा अहिले पनि त्यस्तै स्थिति छ कि, के छ त्यहाँ मैले अक्सिजन नपाएर मरेको सुन्दाखेरि त, अत्यन्तै दुखित भएको छ । म आजै बुझेर अक्सिजनको व्यवस्था मिलाउने प्रबन्ध गर्ने विश्वास दिलाउन चाहन्छु । मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसक्ने हाम्रो योजना छ । अहिले कोभिडकाे खतरनाक रूप नेपालमा आएको छ, धेरै मान्छेहरु मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन, यसलाई कम गर्नका लागि हामी अवश्य नै काम गर्नेछौँ । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने काममा लाग्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यम खोजमूलक र सत्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताउनुभयो । 

उहाँले नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकाले विभिन्न सांस्कृतिक, ऐतिहासिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजन सरकारको भएकोले सरकारको मात्रै गुणगान गाउने कतिपयलाई लागेकाले त्यो काम हट्नुपर्ने बताउनुभयो । उहाँले सरकारको टेलिभिजन भए पनि सबैलाई निष्पक्ष रूपले हेर्नुपर्ने बताउनुभयो । 

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा नेपाल टेलिभिजनका पत्रकारद्वय हेम र सुनिलको निधन भएको थियो । त्यसयता हरेक वर्ष नेपाल टेलिभिजनले आजकै दिन हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव वर्माले पाउनुभएको छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया