सप्तरी : छिन्नमस्ता गाउँपालिकाका ५ हजारभन्दा धेरै विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

 असोज ७, २०७८ बिहिबार २०:२९:१७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाभरिका विद्यार्थीहरू पाठ्यपुस्तक विनै पढ्न बाध्य भएका छन् । छिन्नमस्ता गाउँपालिकामा गाउँ सभा नभएका कारण यस गाउँपालिकाका पाँच हजार ५६ विद्यार्थी विना पाठ्यपुस्तक नै विद्यालय जान बाध्य भएका हुन् । 

कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका सप्तरीका विद्यालयहरू छिन्नमस्ता गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार आज बिहीवारदेखि सञ्चालनमा आएका छन् । गाउँपालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि पाठ्यपुस्तक नहुँदा सप्तरीका पाँच हजारभन्दा धेरै विद्यार्थी अध्ययन गर्नबाट वञ्चित भएका छन् । 

पाठ्यपुस्तक नै नभएपछि विद्यालय गएर पनि बालबालिकाले के पढ्छन् ? भनेर अभिभावकले गुनासो गरेका छन् । भविष्यका कर्णधार भनिने बालबालिकाको जीवनसँग खेलबाड भइरहेको उनीहरू बताउँछन् । 

‘पाठ्यपुस्तक नहुँदा हामी बालबालिकाको जीवन अन्धकारमै गइरहेको छ’, आधारभूत विद्यालय बरही वीरपुरकी छात्रा उषाकुमारी यादवले गुनासो गर्नुभयो । यस्तै गुनासो छिन्नमस्ता गाउँपालिकाका १९ वटै विद्यालयका शिक्षक, शिक्षिका, बालबालिका र अभिभावकको रहेको छ । 

पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरू विद्यालय आउन नमान्ने शिक्षकहरू बताउँछन् । कोरोना महामारीका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आए पनि विना पाठ्यपुस्तक कसरी कक्षा चलाउने भन्दै शिक्षकहरूले अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् । 

यसअघि आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले पाठ्यपुस्तक खरिद गर्नका लागि २४ लाख २० हजार ६ सय ५६ रुपैयाँ विनियोजित गरे पनि समयमै गाउँ सभा नभएका कारण त्यो रकम फिर्ता भएपछि अहिलेसम्म बालबालिका लागि पाठ्यपुस्तक खरिद गर्न नसकेको छिन्नमस्ता गाउँपालिकाको शिक्षा शाखाका राजदेव खंग मण्डलले बताउनुभयो । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय सञ्चालनमा आएपछि अब चाँडै नै पाठ्यपुस्तक खरिद गर्ने उहाँले जानकारी दिनुभयो । 

यसबारे छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुँदा तथा गाउँ सभा नभएका कारण बालबालिकालाई पाठ्यपुस्तक खरिद गर्न नसकेको बताउनुभयो । उहाँले सम्भवतः प्रमुख प्रशासकीय अधिकृत आएलगत्तै पाठ्यपुस्तक खरिद गरी वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया