नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
रसुवा – रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक एक हप्ताभित्र सञ्चालनमा आउने भएको छ । बर्खाका कारण गएको असार १ गतदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउन लागिएको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका अनुसार सडक खुलाउनका लागि काम अघि बढिसकेको छ ।
मैलुङदेखि स्याफ्रुबेसीसम्मको सडकमा झरेको पहिरो हटाउने, ठूलाठूला ढुङ्गा फुटाउनका लागि ब्लास्टिङ गर्ने, नदी कटान गरेको क्षेत्रमा नयाँ बाटो बनाउने लगायतका काम गर्नुपर्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
सडक खण्डको चार ठाउँमा ब्लास्टिङ गर्नुपर्ने देखिएको उहाँले बताउनुभयाे । ‘ब्लास्टिङ गर्नुपर्ने क्षेत्रमा होल खोप्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘ब्लास्टिङकाे लागि स्वीकृति आउन बाँकी छ, स्वीकृति आउनासाथ काम सुरु हुने छ ।’ ब्लास्टिङकाे काम सकिएपछि पहिरो हटाउने तथा नदीले कटान गरेको क्षेत्रमा नयाँ बाटो बनाउने काम अघि बढ्ने उहाँले बताउनुभयो ।
त्यसैगरी योजनाको अनुरोधमा माथिल्लो त्रिशूली एक (२१६) जलविद्युत् आयोजनाले त्रिशूली खोलामा बेलिब्रिज हालिसकेको छ । सडक सञ्चालनमा ल्याएपछि स्तरोन्नतिको कामले निरन्तरता पाउने छ । बर्खाका कारण सडकको विभिन्न ठाउँमा पहिरो गएको र जोखिम बढेका कारण गएको जेठ अन्तिमदेखि स्तरोन्नतिको काम रोकिएको थियो ।
बर्खा अगाडि ग्याबिन लगाउने, सडक चौडा गर्ने, पर्खाल लगाउने काम भइरहेको थियो । अहिलेसम्म यो सडक स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ । यो सडक खण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम हुने छ । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको थियो ।
मैलुङदेखि स्याफ्रुबेसीको दुरी १९ किलोमिटर रहेको छ । २०७५ जेठ ६ गते मैलुङ–स्याफ्रुबेसी सडकको ट्र्याक खोल्ने काम सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो ।
यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटरकाे दुरी छ । बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दुरी २९ किलोमिटरमात्रै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।