‘आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ’

 असोज ८, २०७८ शुक्रबार १७:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । 

नेता बादलले आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनुभयो । शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

नेता बादलले पुष्पकमल दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र देशकाे समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाउनुभयो । 

नेता थापाले सभामुख अग्निप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको पनि स्पष्ट पार्नुभयो । 

अर्काे प्रसङ्गमा उहाँले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया